‘एक्टर’ राजबल्लभको कवितासंग्रह ‘औरा’ सार्वजनिक
काठमाडौँ — अभिनेता राजबल्लभ कोइरालाको पहिलो कवितासंग्रह ‘औरा’ सार्वजनिक भएको छ । शनिबार लाजिम्पाटस्थित दुसित प्रिन्सेसमा अभिनेता कोइरालासहित कवि विप्लव प्रतीक, सञ्चारकर्मी दिलभुषण पाठक, निर्देशक दीपाश्री निरौला र पत्रकार अश्विनी कोइरालाले संयुक्त रुपमा कविता संग्रह ‘औरा’ सार्वजनिक गरे ।
संग्रहको नाम उनले छोरीको नामबाट जुराएका हुन् । ‘कोभिडपछि अचानक के महसुस भयो भने हामी जति बेला पनि यो दुनियाँमा नरहन सक्छौँ । मैले माया गर्ने छोरी औराका लागि र मलाई माया गर्ने शुभेच्छुकको सम्झनाका लागि केही छाडेर जाऊँ भन्नका लागि यो कविता संग्रह आएको हो,’ अभिनेता कोइरालाले भने ।
कार्यक्रममा कवि विप्लव प्रतीकले संग्रहबारे टिप्पणी गर्दै भने, ‘यी कवितालाई कम्तिमा १ सय ११ दिन नै लगाएर पढ्नुहोस् भन्ने मेरो सुझाव छ । किनकि राजका कविता छोटा छन् तर प्रभावशाली छन् ।’
...