
काठमाडौं– एमाले कांग्रेस संयुक्त सरकारले ल्याएका ६ वटा अध्यादेशहरु शुक्रबार संसदको पाँचौं अधिवेशन सुरु भएकै दिन प्रतिनिधिसभामा प्रस्तुत गरिने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेल र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले शुक्रबार अध्यादेशहरु पेश गर्ने कार्यसूची रहेको संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयले जनाएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ पेश गर्ने कार्यसूची छ ।
त्यस्तै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१ पेश गर्ने छन् ।निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ पनि अर्थमन्त्री पौडेलले नै संसदमा पेश गर्नेछन् ।
अर्थमन्त्रीका तर्फबाट आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ पनि संसदमा पेश हुनेछ ।
त्यसैगरी भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ संसदमा पेश गर्नेछन् ।
भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ पनि मन्त्री अधिकारीले संसदमा पेश गर्ने कार्यसूची छ ।
संसदको हिउँदे अधिवेशनका रुपमा लिइने पाँचौं अधिवेशन अर्थात् दुबै संसदको संयुक्त बैठक शुक्रबार दिउँसो १ बजेदेखि बस्दैछ ।
शुक्रबारको बैठकमा संसदमा सहभागी दलका शीर्ष नेताहरुले बोल्ने कार्यसूचीसमेत समेटिएको छ ।
नियुमित कार्यसूचीसँगै अध्यादेश पारित गरिसकेर दुईजना पूर्वसांसद (दमननाथ ढुंगाना र रामजीप्रसाद शर्मा) को शोक प्रस्ताव पारित गरेर आजको बैठक सकिने महासचिव पाण्डेयले बताएका छन् ।
सत्तापक्षले अध्यादेश पेश गर्ने कार्यसूची बनाइरहँदा विपक्षी दलहरुले भने अध्यादेशविरुद्ध सशक्तरुपमा संसदमा प्रस्तुत हुने तयारी गरेका छन् ।
हेर्नुहोस् बैठकको कार्यसूची
