२ अर्ब ८ करोडमा सिमित नेप्से परिसूचकसँगै कारोबार रकम पनि घट्दो , कारोबार रकम

काठमाडौं । नेप्से परिसूचक आइतवार पनि घटेर बन्द भएको छ । परिसूचक १ हजार ९६० दशमलव ३० विन्दुमा झरेको हो । आइतवार सँगै नेप्से लगातार तीन कारोबार दिन घटेको छ । तीन कारोबार दिनमा ४१ दशमलव ३३ अंक घटेको हो ।
नेप्से परिसूचकसँगै दैनिक कारोबार रकम पनि सुस्त भएको छ । आम लगानीकर्ताको मनोबल कमजोर हुँदा बजारले गति लिन नसकेको जानकारहरु बताउँछन् । त्यस्तै निजी क्षेत्रका उद्यमी तथा बैंकरहरु विभिन्न मुद्दामा पक्राउ परेकाले पनि समग्र लगानी वातावरण प्रभावित भएको उनीहरु बताउँछन्  ।

शेयर बजारमा लगानीकर्ताको मनोविज्ञानले निकै ठूलो प्रभाव पर्ने गर्छ भने स साना कुराहरुले प्रभावित पनि पारिराखेको हुन्छ ।
यस भन्दा अगाडि २२ हाराहारीमा पुगिसकेको बजार पुनः निरन्तरजसो घटेर पुन ः १९ सयकै लाइनमा आइसकेको छ । करिब १० अर्ब नजिक पुगेको कारोबार रकम पनि खुम्चिएर २ अर्ब भन्दा तल आइसकेको छ । यसरी हेर्दा शेयर बजारमा आम लगानीकर्ताको मनोविज्ञान कमजोर भएको देखिन्छ ।

यसोत ब्याजदर घट्दै गएको छ भने बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था छ । शेयर बजारमा नीतिगत सुधार, सहज तरलता, सस्तो ब्याजदरसँगै आम लगानीकर्ताको मनोबल समेत सकारात्मक हुन जरुरी देखिएको छ । शेयर बजार सधै घट्ने पनि होइन भने बढ्ने पनि होइन ,यस कारण पनि लगानीकर्ताले बजारको ट्रेण्ड हेरेर कम्पनीको समग्र अवस्था अध्ययन गरेर लगानी गरेमा प्रतिफल प्राप्त हुने पुराना लगानीकर्ता बताउँछन् ।
आइतवार सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ५४ प्रतिशत,फ्लोट इन्डेक्स शून्य दशमलव ६२ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ५८ प्रतिशत घटेको छ ।  यस दिन ३०९ धितोपत्रको  ५५ लाख ७४ हजार २०७ कित्ता शेयर ४५ हजार ४४२ पटकमा रू. २ अर्ब ८ करोड बरावरको कारोबार भएको हो ।

कारोबारमा आएका धितोपत्रमध्ये सबैभन्दा बढी ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९ दशमलव ७० प्रतिशत वृद्धि भएको छ । शेयर मूल्य प्रतिकित्ता रू. ८४० पुगेको हो । त्यस्तै दोस्रोमा एनआईसी एशिया ग्रोथ फण्ड २ को इकाई मूल्य ७ दशमव ४५ प्रतिशत बढेर रू. ८ दशमलव २१ कायम भएको छ ।

आइतवार सबैभन्दा बढी चिरख्वा हाइड्रोपावरका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज ७ दशमलव ४९ प्रतिशत घटेसँगै धेरै गुमाएका हुन । शेयर मूल्य प्रतिकित्ता रू. ६१९ दशमलव ८० मा झरेको छ । त्यस्तै दोस्रोमा ९ प्रतिशत कामना सेवा विकास बैंक डिबेञ्चर २०८७ नामक ऋणपत्रको मूल्य ७ दशमल १४ प्रतिशत घटेर रू. ९१० कायम भएको छ ।

आइतवार सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले ओगटेको छ । यस कम्पनीको रू. १३ करोड २० लाख बराबरको भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४५२ कायम भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा शिवम सिमेन्ट्सको रू. ९ करोड ३ लाख बराबरको भएको हो ।

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये दुई समूहको सूचक बढेको छ भने बाँकी सबै समूहको सूचक घटेको हो । सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूहको सूचक शून्य दशमलव ६६ प्रतिशत बढेको छ भने ब्यापार समूहको सूचक २ दशमलव ५२ प्रतिशत घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *