
५ माघ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले २०८४ सालभित्रै संविधान संशोधन हुने बताएका छन् ।
कांग्रेसको सय दिने विशेष अभियानको वालिङमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका सांसद गुरुङले एमालेसँग भएको साँत बुँदे सहमति तलमाथि नहुने जिकिर थरे ।‘संविधान संशोधन कांग्रेस र एमालेको लागि मात्रै चाहिएको होइन, सबैलाई चाहिएको छ । संशोधनमा सबैलाई समेटिन्छ,’ गुरुङले भने ।
कानुनको अभावमा देशको अर्थतन्त्र धराशायी बनेको भन्दै देशको अर्थतन्त्र सुदृढ गर्न पनि अहिलेको सरकारले निरन्तरता पाउने पनि उनले जिकिर गरे ।कांग्रेस र एमालेलेको यो जिम्मेवारी अरुले लिन नसक्ने भन्दै अहिलेको सरकार कुनै हालतमा नढल्ने उनको दाबी थियो ।
दैनिक मिडियामा सरकार ढल्न लाग्यो भन्दै समाचार सम्प्रेषण हुन थालेपछि प्रधानमन्त्रीले त्यसको जवाफ मात्रै दिएको उनले बताए । त्यस्ता समाचारमा केन्द्रित नहुन पनि उनले नागरिकलाई आग्रह गरे ।
कानुन अभावमा देशमा गाजाखेती, घरेलु मदिरा ब्रन्डिङदेखी नेपालको जडिबुटी उपयोगिता समेत बाधा परेको बताए ।
यस्ता विषयमा कानुन बनाउन सके विदेश जाने युवा रोकिने मात्रै नभएर विदेशमा भएका युवा पनि फर्कने उनको भनाइ थियो ।
कानुन मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका गुरुङले नेपालीको भाग्य कानुनले खोसेको पनि बताए ।
जडिबुटी, घरेलुु मदिरा, नोट बन्दी र गाजा सम्बन्धि कानुन बनाउन सके नेपाल र नेपालीको आर्थिक समृद्धिको यात्रा पुरा हुनेमा उनको जोड थियो ।