सैनिक आवासीय महाविद्यालय भक्तपुरले जित्यो २९औं आइजिपी रनिङ ट्रफी फुटबल प्रतियोगिता

२९औं अन्तर माध्यामिक विद्यालय आइजिपी रनिङ ट्रफी फुटबल प्रतियोगिता सैनिक आवासीय महाविद्यालय भक्तपुरले जितेको छ। 

शुक्रबार नेपाल पुलिस स्कुल साँगामा भएको अन्तर माध्यामिक विद्यालय आइजिपी रनिङ ट्रफी फुटबल प्रतियोगिता २०८० उक्त महाविद्यालयले जितेको हो।

प्रतियोगितामा ल्याबोरेटोरी स्कुल कीर्तिपुर टीम द्वितीय र नेपाल पुलिस स्कुल साँगा ‘ए’ टीम तृतीय भएका छन्। प्रथम हुने टिमले ५० हजार, द्वितीयले ४० हजार र तृतीयले ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।

आज भएको फाइनल खेलमा सैनिक आवासीय महाविद्यालय भक्तपुरले ल्याबोरेटोरी स्कुल कीर्तिपुरलाई टाइबेकरमा ३-० गोल अन्तरले पराजित गरेको छ। निर्धारित समयको खेल २-२ को बराबरीमा सकिएको थियो।

मंसिर २० गतेदेखि सुरू भएको प्रतियोगितामा नेपाल पुलिस स्कुल साँगाका ‘ए’ र ‘बि’ टिम, नेपाल पुलिस स्कुल धरान र सामाखुसी, सैनिक आवासीय महाविद्यालय, सशस्त्र प्रहरी विद्यालय लगायत काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका गरी जम्मा १६ विद्यालयका १७ टिमको सहभागिता रहेको थियो।  

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा प्रतियोगिता सम्पन्न भएको हो। 

कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले विजयी खेलाडी, विभिन्न विधामा उत्कृष्ट खेलाडी तथा टिमलाई ट्रफी, नगद पुरस्कार तथा प्रमाणपत्र दिएका थिए।

प्रहरी महानिरीक्षक कुँवरले खेलकुदले विद्यार्थीहरूको प्रतिभालाई उजार गर्नुको साथै रचनात्मक तथा सिर्जनात्मक क्षमता अभिवृद्धि गर्न प्रभावकारी भूमिका निर्वाह गरेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *