सय वर्षअघि बनेको थियो नेपालमा पहिलो सडक, राणाकालमा ३७६ किमि

३ माघ, काठमाडौं । मुलुकभरि सबै तहका सरकारले निर्माण गरेको सडक लम्बाइ १ लाख २ हजार किलोमिटर पार गरिसकेको छ ।

आजभन्दा १ सय वर्षअघि १९८० सालदेखि नेपालमा राणा शासनकालमै सडक निर्माण सुरु भए पनि त्यसपछिको २७ वर्ष अवधिमा ३ सय ७६ किलोमिटर मात्र सडक निर्माण भएको थियो ।तर, त्यसपछिको ७४ वर्ष अवधिमा देशभरिका ७७ जिल्लामा राष्ट्रिय सडक सञ्जाल विस्तार भएको छ भने चार लेनको सडक निर्माण र विस्तारले गति लिन थालेको छ । यस अवधिमा नेपालमा सडक लम्बाइ २ सय ७० गुणाले बढेको देखिन्छ ।

नेपालमा २००७ सालमा राणा शासन अन्त्य भई प्रजातन्त्र आयो । उक्त समयमै नेपालमा ३ सय ७६ किलोमिटर सडक निर्माण भइसकेको थियो ।सडक विभागका अनुसार राणा शासन अन्त्य (२००७ साल) सम्म नेपालमा ५ किलोमिटर कालोपत्र सडक बनिसकेको दस्तावेज छ । यस अवधिमा ८३ किलोमिटर ग्राभेल र २ सय ८८ किलोमिटर माटे सडक बनिसकेको थियो ।विभागका अनुसार २६ चैत २००८ मा तत्कालीन यातायात तथा सञ्चार विभागले सूचना प्रकाशित गरेको थियो । जसमा काठमाडौं, भक्तपुर र काभ्रे बनेपासम्म सर्वसाधारण जनतालाई सुविस्ता प्रदान गर्ने उद्देश्यले सवारी चलाउन दरखास्त माग गरिएको थियो । सोही क्रममा सडकबारे विवरण उल्लेख भएको थियो ।

२००७ साल अगाडि नेपालमा सडक निर्माण र नियमनमा सक्रिय नयाँ बाटो काज गोश्वारा र पुरानो बाटो काज गोश्वारा नामक अड्डा थिए ।

यी अड्डा गाभेर सार्वजनिक निर्माण विभाग स्थापना गरिएको थियो । कालान्तरमा यही अड्डा सडक विभागमा रूपान्तरण भएको हो । सडक विभागको औपचारिक स्थापना २०१७ साल ताका भएको इतिहास छ ।

त्यस्तै २००७ सालअघि बनेका सडकमा ढुंगा छापिएका हुन्थे । त्यसबेला बनेका मुख्य सडकहरू भीमफेदी–अमलेखगञ्ज, बुटवल–भैरहवा, राजधानी काठमाडौं भित्रका सडक र तराईका केही सहरमा इँटा र ढुंगा छापिएका एक लेन भएका सडक थिए ।

Please follow and like us:
Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *