सन् २०२४ को गर्मी यो युगकै उच्च

२८ पुस, काठमाडौं । पृथ्वीको सतह यति धेरै तात्दै गएको छ कि हर मौसम र वर्षमा चिन्ताजनक रेकर्ड दर्ज हुँदै गएको छ । विश्वको क्यालेन्डरमा सन् २०२४ यस्तो वर्ष रह्यो जो यो युगकै सबैभन्दा तातो वर्ष घोषित भयो ।

जलवायुको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय एजेन्सी कोपरनिकस केलाइमेट चेन्ज सर्भिसले तापक्रम सम्बन्धी एक रिपोर्ट सार्वजनिक गर्दै भनेको छ– सन् २०२४ को तापक्रम औद्योगिक युगकै उच्च भएको छ । विश्वको औसत तापक्रम पूर्व–औद्योगिक स्तरभन्दा १.५ डिग्री सेल्सियसभन्दा बढी भएको छ ।कोपरनिकसको यो घोषणाले जलवायु परिवर्तनका कारण संकट गहिरिंदै गएको संकेत गर्ने जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशी बताउँछन् ।
‘असारमा कञ्चनपुरको दोधारा चाँदनीमा भएको आरीघोप्टे वर्षा, साउनमा थामेको हिमबाढी, असोजमा काठमाडौं उपत्यकामा भएको रेकर्ड ब्रेक वर्षाका कारण निम्तिएको विपत्ति लगायतका घटनाहरु जलवायु परिवर्तनसँग अन्तर सम्बन्धित छन्,’ जोशी भन्छन्, ‘यसले ग्लोबल वार्मिङबाट नेपाल पनि संकटमा परेको देखाउँछ ।’

कोपरनिकसको ताजा रिपोर्ट अनुसार सन् २०२४ मा अत्यधिक गर्मी, बाढीपहिरो, खडेरी र डढेलोका घटना बढेका थिए । उदाहरणका लागि नेपालमै डढेलोले विगतका सबै रेकर्ड तोडेको थियो । क्यानडा र बोलिभियामा पनि डढेलोले रेकर्ड तोडेको थियो ।यसैगरी उच्च तापमान र आद्रताले गम्भीर स्तरको गर्मीको स्थितिलाई बढावा दिएको थियो ।

रिपोर्टका अनुसार जुलाई २०२४ मा विश्वमा ४४ प्रतिशत क्षेत्रमा गम्भीरदेखि अति गम्भीर गर्मी थियोे । गर्मी बढाउन अल निनोको पनि योगदान थियोे ।

Please follow and like us:
Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *