काठमाडौं। नेपाल प्रहरीका पूर्वआईजीहरुले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेका छन्।
पूर्वप्रहरी संगठन प्रमुख मञ्चले मंगलबार प्रेस विज्ञप्ति निकालेर मन्त्री गुरुङले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई लक्षित गरेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै आवश्यक कारबाही गर्न माग गरेको हो।मन्त्री गुरुङले प्रहरी समायोजनलाई लिएर गत शनिबार ‘प्रहरी महानिरीक्षकको जिब्रो थुत्नुपर्ने’ विवादास्पद अभिव्यक्ति दिएका थिए। मञ्चले यो अभिव्यक्तिप्रति प्रहरी महानिरीक्षकसँग क्षमा माग्न मन्त्री गुरुङको ध्यानाकर्षण गराएको छ।
‘माननीय मन्त्रीज्यूबाट प्रहरी महानिरीक्षकविरुद्ध अमर्यादित र अशोभनीय शब्दावलीको जुन प्रयोग भयो त्यसले माननीयज्यूको राजनीतिक कद घटाएको छ भने नेपाल प्रहरी जस्तो गरिमामय र नेपाल सरकारको सबैभन्दा सक्रिय संगठनको नजरबाट माननीयज्यू गिर्नु भएको छ,’ विज्ञप्तिमा भनिएको छ।मञ्चले मन्त्रीको विवादास्पद अभिव्यक्तिले बहालवालाका साथै पूर्वसुरक्षाकर्मीको समेत मानमर्दन भएको बताएको छ।
‘यस मञ्च माननीय मन्त्रीज्यूलाई तत्काल उक्त वचन फिर्ता लिई नेपाल प्रहरी संगठन र प्रहरी महानिरीक्षकसँग क्षमायाचना गर्नु हुन आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘साथै बहाल तथा पूर्वसुरक्षाकर्मीको मानमर्दन हुने यस प्रकृतिको घटनाका सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई माननीय मन्त्रीज्यूको असंवेदनशील अभिव्यक्तिलाई संज्ञानमा लिनु भई आवश्यक कारबाही गर्नु पनि अनुरोध गर्दछौं।’