रास्वपा सभापति लामिछानेमाथि संसदीय छानबिनसँगै प्रहरीको पनि अनुसन्धान

काठमाडौं । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना गरेको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका पूर्वगृहमन्त्री रवि लामिछानेमाथि प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।पोखरा महानगरपालिकाको छानबिन समितिले दोस्रो पटक दिएको प्रतिवेदन र यस अघि नै परेको लामिछानेसहित १८ जना विरुद्धको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान अघि बढाएको हो । सहकारीको रकम लगानी भएको कम्पनीका सञ्चालकमाथि अनुसन्धान गर्ने क्रममा लामिछानेसँग पनि कास्की प्रहरीले कागज गराएको गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीले लामिछानलेसहित चार जनासँग कागज गराएको हो । गोर्खा मिडिया ग्रुपअन्तर्गत ग्यालेक्सी फोर के टेलिभिजनमा सहकारीको रकम आएको देखिएकाले तत्कालीन प्रबन्ध निर्देशकका रुपमा लामिछाने, उपाध्यक्ष रहेका छविलाल बन्जाडे र विपिन आचार्यसँग प्रहरीले कागज गराएको हो । प्रहरीले पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुनसँग पनि कागज गराएको छ ।गृह स्रोतका अनुसार कागज गराउन जिल्ला प्रहरी कार्यालय कास्कीको टोली नै काठमाडौं आएको थियो । यो टोलीले ग्यालेक्सी टीभीमा पुगेर छापासमेत मारेको थियो । यता संसदीय छानबिन समितिले पनि लामिछानेसाग सोधपुछ गरेर प्रतिवेदन तयार पारिरहेको छ । समितिको सिफारिसपछि मात्रै कारबाही प्रक्रिया अगाडि बढाउने तयारी प्रहरीको छ । संसदीय समितिले प्रतिवेदन लेखनको काम अन्तिम चरणमा पुर्‍याएको छ ।गृहमन्त्री रमेश लेखकसहित नेपाली कांग्रेसका नेताहरुले लामिछानेमाथि प्रहरीले तत्काल अनुसन्धान अघि बढाओस् भन्ने चाहेका छन् । तर प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल कारबाही गर्दा लामिछानेमाथि प्रतिशोध साँधेको देखिने भन्दै संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कुर्न भन्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *