यातायात कार्यालयहरू अस्तव्यस्त 

उपसचिव इश्वरी पनेरु र नरहरी तिवारीको कोठाको आगलागी गुपचुप

काठमाडौं । देशभरको यातायात कार्यालयका सेवा साउनको ७ र ८ गते दुई दिन सर्भर डाउन हुँदा ठप्प भए । सेवा लिन गएका सेवाग्राही र कर्मचारीबीच तनावको अवस्था पनि सिर्जना भयो । यातायात कार्यालयहरू अस्तव्यस्त भए । सेवा प्रवाहमा बढी भीड हुने भनेकै यातायात व्यवस्था कार्यालय हो । काठमाडौंका चार कार्यालयले मात्रै दैनिक ४ हजारभन्दा बढीलाई सेवा दिने गरेका थिए । देशभर यातायात कार्यालयबाट दैनिक हजारौंले सेवा लिने गर्छन । काम नभएपछि सेवाग्राहीहरू कर्मचारी माथि आक्रोश पोख्ने गर्छन ।

त्यतिबेला कतिपय कार्यालयमा सेवाग्राहीको आक्रोशका कारण कर्मचारी दिउँसै कार्यालय छाडेर हिँडेका थिए । तर, यसलाई सामान्य सर्भर डाउन भएको भन्दै टारियो । यसो किन भयो भनेर कोही कसैले खोजीनीति गरेन । मात्र सर्भर डाउन भएको भन्दै समाचारहरू सम्प्रेषण भए ।यसको खास कारण विभागका दुई कर्मचारीको कोठामा रहेको एसीमा आगलागी भएपछि सर्भर डाउन भएको थियो ।यातायात व्यवस्था विभागको कार्यालयमा गत साता दुई वटा कोठामा आगलागी हुँदा दुई दिनसम्म सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाई अवरुद्ध भयो । लाइसेन्स छपाई अवरुद्ध भएको समाचार बाहिर आएपनि आगलागी भएको विषय बाहिर आउनै पाएन ।

दुई उपसचिवको कोठामा आगलागी भएको र प्रिन्टिङ कोठामा धुवा छिरेर सफ्टवेयर ह्याक भएको विषयलाई भित्रभित्रै गुपचुप राखिएको छ ।यो विषयलाई बाहिर ल्याउन विभागका महानिर्देशक उद्धव रिजालले पनि चाहेनन् । नक्कली लाइसेन्सको अनुसन्धान गरेर चर्चामा आएका रिजालले दुई उपसचिव इश्वरी पनेरु र नरहरी तिवारीको कोठामा आगलागी भएको विषयलाई गुपचुप राखेका छन् ।

एसीमा आगलागी भएपछि त्यहाँको धुवा सर्भर रहेको कोठामा छिरेको थियो । धुवा छिरेपछि पूरै सर्भर डाउन भएर दुई दिनसम्म चल्न सकेको थिएन । त्यसलाई चलाउनका लागि सिंगापुरमा रहेका कम्प्युटर इन्जिनियर सन्तोष श्रेष्ठको सहयोग लिइएको विभाग स्रोतले जनाएको छ । ‘डाउन भएको सर्भर सिंगापुरबाट खोल्नु पर्यो यो भन्दा लाजमर्दो केही हुन्छ’, विभागकै एक अधिकारीले भने ।

नक्कली लाइसेन्सको छानवीन भएदेखिनै विभागमा रहेका कर्मचारीहरुले विभिन्न बहनामा लाइसेन्स छपाई र वितरण प्रणालीमा अवरोध गरिरहेका बेला एसीमा आगलागी गराएर सर्भर डाउन गरेको हुनसक्ने आशंका गरिएको छ ।

नक्कली लाइसेन्स वितरण प्रकृयामा खासगरी राज्यको पहुँचमा रहेका पूर्व महानिर्देशकहरु मुछिएपछि कुनै कुनै बेला विभागमा कर्मचारी र विचौलियाहरुले अवरोध गर्दै आएका छन् । तर विभागमा महानिर्देशक रिजाल यो विषयमा मौन रहेका छन् । पछिल्लो समय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पनि छानबिन गरेर अदालतमा मुद्धा दर्ता गरिसकेको र उपसचिव केशव अर्याललाई थुनामा पठाइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *