
काठमाडौ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमनस्थलबाट नियमित व्यावसायिक उडानका लागि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले धमाधम अनुमति माग्न थालेका छन्।यसअघि जजिरा एयरवेजले उडान अनुमति मागेकामा युएईको फ्लाइ दुबाईले पनि निवेदन दिएको छ। फ्लाइ दुबईको जीएसए युनिभर्सल ट्राभल्सले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) मा भैरहवा-दुबई उडान गर्ने प्रस्ताव गरेको छ।‘युएईको ध्वजावाहक वायुसेवा फ्लाइ दुबईले भैरहवामा नियमित व्यावसायिक उडान गर्ने प्रस्ताव आएको छ,’ क्यानका उक कर्मचारीले भने, ‘हामी प्रस्ताव अध्ययन गरेर उडान तालिका निश्चित गर्छौं।’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्याक्सी-वे स्तरोन्नतिका क्रममा कात्तिक अन्तिम सातादेखि चैतसम्म उडान प्रभावित हुने भएपछि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले भैरहवाबाट उडानका लागि धमाधम अनुमति माग्न थालेका हुन्।
यसअघि जजिरा एयरवेज र थाइ एयर एसियाले अनुमति मागेका थिए। भैरहवामा उडानका लागि जजिरा एयरवेजलाई अनुमति दिने प्रक्रिया अन्तिम चरणमा रहेको क्यानका ती कर्मचारीले बताए। कम्पनीले भैरहवा-कुवेत उडानका लागि समयसमेत प्रस्ताव गरिसकेको छ।यसैगरी ५ वर्षपछि असोज १६ गतेबाट काठमाडौंमा पुनः उडान सुरु गरेको थाइ एयर एसियाले पनि भैरहवाबाट नियमित व्यावसायिक उडान गर्ने योजना अगाडि बढाइसकेको छ। कम्पनीका प्रतिनिधि विमानस्थलको अवलोकन गरेर फर्किएका छन्।
यो विमानस्थलमा अहिले नेपाल वायुसेवा निगमले काठमाडौं-क्वालालाम्पुर-भैरहवा-काठमाडौं साताको १ दिन मंगलबार टचडाउन उडान गर्दै आएको छ।
क्यानले वायुसेवा कम्पनीहरुलाई ट्याक्सी-वे स्तरोन्नतिका कारण त्रिभुवन विमानस्थलमा ५० प्रतिशत उडान कटौती हुने भन्दै बाँकी उडान भैरहवामा गर्न तीन महिनाअघि नै वायुसेवा प्रदायक कम्पनीहरुलाई आग्रह गरेको थियो। भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय उडान गर्ने कम्पनीलाई विभिन्न सुविधामा छुट दिने निर्णय सरकारले यसअघि नै गरिसकेको छ।