
काठमाडौं, माघ २१ – भारतको ७७ औं सेना दिवसको अवसरमा काठमाडौंस्थित भारतीय राजदूतावासको रक्षा प्रभागले विशेष औपचारिक भोजको आयोजना गर्यो। भारतीय सेना दिवस प्रत्येक वर्ष सन् १९४९ को जनवरी १५ का दिन लेफ्टिनेन्ट जनरल (पछि फिल्ड मार्शल) के.एम. करियप्पाले पहिलो भारतीय कमाण्डर इन चिफको रूपमा भारतीय सेनाको नेतृत्व सम्हालेको सम्झनामा मनाइन्छ।
नेपालका प्रधान सेनापति तथा भारतीय सेनाका मानार्थ महारथी प्रसिद्ध प्रबल जनसेवा श्री अशोक राज सिग्देल समारोहको प्रमुख अतिथि हुनुहुन्थ्यो। कार्यक्रममा नेपालका पूर्व सेना प्रमुख, बहालवाला तथा सेवानिवृत्त सेना अधिकृत, कूटनीतिक अधिकारी, नेपाल सरकारका प्रतिनिधि तथा पत्रकारहरूको उपस्थिति थियो।
नेपालका लागि भारतीय राजदूत महामहिम नवीन श्रीवास्तवले समारोहमा भारतीय सेना र नेपाली सेनाबीचको गहिरो ऐतिहासिक सम्बन्धबारे चर्चा गर्दै, गोर्खा सैनिकहरूको निःस्वार्थ सेवा र बलिदानप्रति कृतज्ञता व्यक्त गर्नुभयो। साथै, भारतीय सेनाका पेन्सनवाला तथा नेपालमा रहेका उनीहरूका परिवारको कल्याणका लागि भारत सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
प्रधान सेनापति अशोक राज सिग्देलले भारतका सेनाध्यक्ष तथा नेपाली सेनाका मानार्थ महारथी उपेन्द्र द्विवेदीलाई तथा सम्पूर्ण भारतीय सेना भ्रातृत्वलाई भारतको ७७ औं सेना दिवसको शुभकामना व्यक्त गर्नुभयो। नेपाली सेनाको क्षमता अभिवृद्धिमा भारतीय सेनाले पु¥याएको योगदानको प्रशंसा गर्दै, नेपाली सेनाले यसलाई महत्वपूर्ण सहयोगका रूपमा लिएको बताउनुभयो।
समारोहका क्रममा भारतीय सेनाका वीरता पुरस्कार विजेता गोर्खा सैनिकलाई विशेष सम्मान प्रदान गरियो।