
नेपाल, बाँके – भारत सरकारले नेपालका बाढी र पहिरो प्रभावित परिवारहरूलाई सहयोग गर्ने क्रमलाई निरन्तरता दिँदै आज दोस्रो खेपको राहत सामाग्री हस्तान्तरण गरेको छ । भारत सरकारका तर्फबाट द्वितीय सचिव श्री नारायण सिंहले बाँके जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी श्री दत्तराज हमाललाई राहत सामग्री हस्तान्तरण गर्नुभयो ।
भारतबाट आज नेपालगञ्जमा ल्याइएको २१.५ टनको मानवीय सहायता सामाग्रीमा अत्यावश्यक सरसफाई सामग्री, औषधी, झुल, लाइफ ज्याकेट, स्लीपिङ्ग म्याट, खाद्यवस्तु, गम बुट, इन्फ्लेटेबल रबर बोट र मोटर समावेश छन् । यो दोस्रो खेपको राहत सामाग्रीबाट बाढी र पहिरोबाट प्रभावित समुदायलाई तत्काल राहत पुर्याइने अपेक्षा गरिएको छ।
भारत सरकारले हालै नेपालमा आएको बाढी र पहिरोले निम्त्याएको विनाशकारी स्थितिमा नेपाल सरकारलाई साथ दिन र आवश्यक सहयोग पुर्याउन तत्पर रहेको जनाएको छ। आगामी दिनहरूमा थप राहत सामाग्री आउने अपेक्षा गरिएको छ।