बागमती प्रदेशमा सात वर्षमा चार जना प्रदेश प्रमुख बनेका छन् । संघीयता कार्यान्वयनको ७ औं वर्ष चलिरहँदा बागमती प्रदेशले अहिलेसम्म चार जना प्रदेश प्रमुख पाएको हो । शुक्रबार मात्रै चौथो प्रदेश प्रमुखको रुपमा शुक्रबार दीपक प्रसादले पदभार ग्रहण गरेका छन् ।
यसअघि बागमती प्रदेशमा यादवचन्द्र शर्मा, विष्णु प्रसाईँ र अनुराधा कोइरला प्रदेश प्रमुख बनेका थिए । संवैधानिक व्यवस्था अनुसार प्रदेश प्रमुखको कार्यकाल पाँच वर्षको हुने व्यवस्था छ। तर, पदावधिअगावै मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले चाहेमा प्रदेश प्रमुखलाई पदमुक्त गर्ने सक्ने भएकाले सत्ता समिकरणको प्रभाव प्रदेश प्रमुख फेरवदलमा पनि पर्ने गरेको छ । सत्ता समिकिरण परिवर्तन भएसँगै प्रदेश प्रमुख पनि परिवर्तन गर्ने परिपाटी बन्दा बागमतीले सात वर्षमा चार जना प्रदेश प्रमुख पाएको हो ।
असारमा कांग्रेस र एमालेबीच नयाँ सत्ता समिकरण बनेसँगै बागमतीमा प्रदेश प्रमुख परिवर्तन हुने चर्चा चलेको थियो । यसअघिको सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादीका तर्फबाट प्रदेश प्रमुख बनेका यादवचन्द्र शर्माको स्थानमा देवकोटा प्रदेश प्रमुख बनेका हुन् ।
नयाँ सत्ता गठबन्धनमा कांग्रेस र एमालेमात्रै सहभागी भएपछि १४ साउनमा बसेको संघीय मन्त्रिपरिषद बैठकले शर्मालाई हटाएर एमाले निकट देवकोटालाई प्रदेश प्रमुखमा नियुक्ति गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । सोहि अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेश प्रमुखमा नियुक्त गर्दै देवकोटासँगै लुम्बिीन र कर्णालीका नव नियुक्त प्रदेश प्रमुखहरुलाई पनि बिहीबार पद तथा गोपनियताको सपथ गराएका थिए ।
यसअघि बागमती प्रदेशको पहिलो प्रदेश प्रमुखका रुपमा ३ माघ २०७४ मा तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले अनुराधा कोइरालालाई नियुक्त गरिएको थियो । करिब २२ महिना प्रदेश प्रमुख रहेकी कोइरालालाई हटाएर १८ कात्तिक २०७६ मा तत्कालीन केपी शर्मा ओली सरकारले विष्णु प्रसाईँलाई प्रदेश प्रमुखमा नियुक्त गरे ।
२०७८ भदौमा पुनः प्रधानमन्त्री बनेका देउवा नेतृत्वको सरकारले प्रसाईँलाई हटाएर यादवचन्द्र शर्मालाई प्रदेश प्रमुखका रूपमा नियुक्त गर्यो । एमालेको कोटामा प्रदेश प्रमुख बनेका उनले २१ महिना काम गर्ने अवसर पाए । २०७४ मा झापाको मेचीनगर नगरपालिकाको मेयर पदमा एमालेबाट निर्वाचनमा प्रतिस्पर्धा गरेका प्रसाईँ पराजित भएपछि प्रदेश प्रमुख नियुक्त भएका थिए ।
यस्तै २०७७ फागुनमा नेकपा विभाजन भएर एमाले र माओवादी केन्द्र साबिककै अवस्थामा फर्किएपछि एमाले विभिजन भएर बनेको नयाँ पार्टी एकीकृत समाजवादीको तर्फबाट तत्कालको पाँच दलीय गठबन्धनको सरकारले ३ भदौ २०७८ मा प्रसाईँलाई हटाएर यादवचन्द्र शर्मालाई प्रदेश प्रमुखको जिम्मेवारी दिइएको थियो ।
एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल निकट शर्मा सत्ता गठबन्धन परिवर्तनसँगै पदमुक्त हुने चर्चा चलेको थियो । करिब तीन वर्ष प्रदेश प्रमुखको जिम्मेवारी पाएका शर्मालाई गत १४ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले पदमुक्त गर्ने निर्णय गरेको थियो । शुक्रबार औपचारिक रुपमा नवनियुक्त प्रदेश प्रमुख देवकोटाले माला र खादा लगाएर शर्मालाई बिदाई गरेका छन् ।