बर्दिया राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटकको संख्यामा ११ प्रतिशतले वृद्धि भएको छ । निकुञ्जमा आर्थिक वर्ष ०८०/८१ मा १८ हजार १० जना नेपाली, ६ हजार ६ सय ८४ जना विदेशी र एक हजार चार सय ३७ जना सार्क मुलुकका गरी २६ हजार एक सय ३१ जना पर्यटक घुम्न आएका थिए । अघिल्लो आर्थिक वर्ष ०७९/८० मा १६ हजार सात सय २२ नेपाली, ६ हजार तीन सय ८३ विदेशी र एक हजार दुई १९ सार्क मुलुकका नागरिकले निकुञ्ज भ्रमण गरेका थिए ।
निकुञ्जमा गत आर्थिक वर्षमा नेपाली, विदेश र सार्क मुलुकका पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले बताए । विगत वर्षहरूको तुलनामा पर्यटक बढेका कारण राजस्व संकलनमा समेत वृद्धि भएको छ । उनले भने, ‘नेपाली पनि पर्यटकीय क्षेत्र घुम्नका लागि आउने क्रम बढेको छ । सहजै बाघ हेर्न सकिने भएको हुनाले समेत पर्यटक बर्दिया राष्ट्रिय निकुञ्ज आउने गरेका छन् ।’
बर्दिया राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी राजस्व संकलन पर्यापर्यटनबाट नै हुने गरेको तथ्यांक छ । गत आर्थिक वर्र्ष ०८०/८१ मा सबैभन्दा बढी दुई करोड ८४ लाख चार हजार राजस्व पर्यापर्यटनबाट प्राप्त भएको छ । जुन कुल राजस्व चार करोड ५२ लाख आठ हजारकोे ६२.८२ प्रतिशत हो । अघिल्लो आर्थिक वर्ष ०७९/८० मा कुल राजस्वमा ४८.३७ प्रतिशत मात्र पर्यापर्यटनबाट राजस्व संकलन भएको थियो ।
पर्यटकको वृद्धि भएसँगै बर्दियाका पर्यटन व्यवसायीहरू पनि हर्षित भएका छन् । कोरोनापछि सुस्ताएको पर्यटन व्यवसाय पुनः तग्रिँदै गएको पर्यटन व्यवसायी रामजी थापाले बताए ।