एजेन्सी । बंगलादेशको अन्तरिम सरकारको नेतृत्व गरेका नेता मोहम्मद युनुसले शनिबार राजनीतिक, सामाजिक र धार्मिक एकताका निम्ति सबै देशवासीसँग अपिल गरेका छन् । शेख हसिनाको १५ वर्षे शासन अन्त्य गर्ने क्रममा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर ज्यान गुमाएकी एक छात्राकी रोइरहेकी आमालाई अँगालो हाल्दै उनले विगतको हृदयविदारक घटनालाई मनमा राख्न र धार्मिक सहिष्णुता प्रकट गर्न आग्रह गरेका हुन् ।
नोबेल पुरस्कार विजेता ८४ वर्षीय युनुस यसै साता युरोपबाट फर्किएका र अव्यवस्थाको अन्त्य तथा प्रजातान्त्रिक सुधारको ठूलो चुनौतीको सामना गर्दै अन्तरिक प्रशासनको नेतृत्व सम्हालेका हुन् । “हाम्रो जिम्मेवारी नयाँ बंगलादेश निर्माण गर्नु हो,” उनले भने ।पूर्वप्रधानमन्त्री हसिनालाई विद्यार्थी आन्दोलनको बलमा गत साता पदच्युत गरिएपछि देशका हिन्दु अल्पसंख्यक समुदायमाथि भएका कैयौँ प्रतिशोधात्मक आक्रमणले छिमेकी मुलुक भारतमा सन्त्रास पैदा गर्नुका साथै स्वदेशमा पनि त्रास फैलाएको छ ।