काठमाडौँ । प्रेस सेन्टर नेपालले पत्रपत्रिकाको वर्गीकरणको नतिजालगायतका विषयमा प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण गराएको छ । प्रेस सेन्टर नेपालका वरिष्ठ उपाध्यक्ष कमल गिरीको नेतृत्वमा उपाध्यक्षहरु लक्ष्मण खडका, ओपेन्द्र शर्मा , दिपेन्द्र रावल र महासचिव सन्तोष पौडेल लगाएत करिब २० जनाको प्रेस सेन्टरको टोलीले काउन्सिल पुगेर अध्यक्ष बालकृष्ण बस्नेतको ध्यानाकर्षण गराएको हो ।
वरिष्ठ उपाध्यक्ष गिरीले प्रेस काउन्सिल नेपाल नेपाली पत्रकारहरूको आशा र भरोसाको केन्द्र भएको बताए । अन्तर्राष्ट्रिय र नेपाली मान्यताअनुसार पनि काउन्सिल अर्धन्यायिक निकाय भएकाले यसले सम्पादन गर्ने कार्यहरू न्यायोचित हुनुपर्ने आफूहरूको मान्यता रहेको बताए ।
गिरीले पछिल्लो समय प्रेस काउन्सिल नेपालले गरेको पत्रपत्रिका वर्गीकरण, पुरस्कार वितरण लगायतमा पक्षधरता देखिएको गुनासो आएको बताए । काउन्सिलको विषयमा यस्तो टिप्पणी आउनु समग्र पत्रकारिताकै लागि नराम्रो हुने भन्दै उनले यसबारेमा काउन्सिल नेतृत्वले गम्भीर भएर सोच्नुपर्ने बताए ।
पछिल्लो पटक पत्रपत्रिकाको वर्गीकरणको विषयमा आफूहरूको असहमति रहेको र त्यसलाई सच्याएर काउन्सिल अघि बढ्नुपर्ने गिरीको भनाइ थियो । कार्यक्रममा उपाध्यक्ष लक्ष्मण खडका, ओपेन्द्र शर्मा लगायतले पत्रपत्रिका वर्गीकरण न्यायोचित नभएकोले सच्चाउनुपर्नेमा जोड दिएका थिए भने कार्यक्रममा महासचिव पौडेलले प्रेस सेन्टरको वक्तव्य पढेर सुनाएका थिए ।काउन्सिल अध्यक्ष बस्नेतले काउन्सिलको सफलतामा प्रेस सेन्टर जस्ता पत्रकारहरूका संगठनको सहयोग आवश्यक रहेको उल्लेख गरे । यसपटकको पत्रपत्रिकाको वर्गीकरणका विषयमा बढी गुनासो आएको उल्लेख गर्दै अध्यक्ष बस्नेतले त्यसमा पुनर्विचार गर्ने प्रतिबद्धता जनाए ।