पाथीभरा घटनामा घाइते भएकाहरूको उपचार सरकारले गर्ने

१५ माघ, काठमाडौं । ताप्लेजुङको पाथीभरामा केबलकार निमार्णको विषयमा भएको झडपका क्रममा घाइते भएकाहरूको उपचार खर्च सरकारले ब्यहोर्ने भएको छ ।

मंगलबार सिंहदरबारमा गृहमन्त्री, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखसहितको बैठकले घाइतेको उपचार खर्च ब्यहोर्ने लगायतका निर्णय गरेको हो ।त्यस्तै, घटनाबारे थप बुझेर समाधानका लागि वार्ता समिति गठन गर्ने निर्णय पनि भएको वार्तामा सहभागी एक सांसदले अनलाइनखबरलाई जानकारी दिए । घटनाबारे भोलि (बुधबार) संस्कृति, पर्यटन तथा उड्डययनमन्त्री बद्रीप्रसाद पाण्डेसँग छलफल गर्ने बताइएको छ ।

मंगलबार भएको छलफलमा गृहमन्त्री रमेश लेखक, ताप्लेजुङका सांसद योगेश भट्टराई र उर्मिला थेवे, इलाम क्षेत्र नम्बर २ का सांसद सुहाङ नेम्वाङ, नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही लगायत सहभागी थिए ।छलफलमा प्रहरी महानिरीक्षक कुँवरले घटनाको पछिल्लो अवस्थाबारे ब्रिफिङ गरेका थिए ।

पाथीभरामा केबुलकार निर्माणको काम रोक्न स्थानीयले माग गर्दै आएका छन् । ‘नो केबुलकार समूह’ को नामबाट सोमबार प्रदर्शनमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप समेत भएको थियो ।

सोमबार केबुलकार निर्माणको विषयमा विवाद हुँदा प्रहरीले गोली चलाएको थियो । सो क्रममा दुई जना घाइते भएका थिए । त्यसैगरी भागदौडमा एक जना गम्भीर घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।

मुक्कुमलुङ संरक्षण र केबुलकार खारेजी संघर्षरत संस्थाका प्रतिनिधिहरूले १५ माघदेखि अनिश्चितकालीन बन्द आह्वान गरेका छन् ।

Please follow and like us:
Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *