
११ माघ, काठमाडौं । संसदीय अभ्यास अपनाउने मुलुकहरूमा सामान्यतया संस्थापन इतर पक्षले सरकार ठिकठाक नचलिरहेको निष्कर्ष सधैंजसो निकालिरहेका हुन्छन् । अझ नेपाल जस्तो चरम राजनीतिक अस्थिरता भएको मुलुकमा देश बनिरहेको भन्दा पनि बिग्रिरहेको निष्कर्षमा आम सहमति देखिन्छ ।
अहिलेको सरकार गठन नै मुलुकमा चरम निराशा रहेको निष्कर्षसहित भयो । संसदको पहिलो र दोस्रो दल मिलेर केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउनुपर्ने कारणबारे नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूले देशलाई असफल हुनबाट रोक्न भनेका थिए ।अर्थात् अहिले देशको अवस्था ठिक छैन भन्ने स्वीकारोक्ति सरकार चलाउनेहरूमै छ । त्यसो त, हालै भएको एक देशव्यापी सर्वेक्षणका सहभागीहरूले पनि ‘देशको राजनीति र अर्थतन्त्र खराब लयमा रहेको’ बताएका छन् ।
सर्वेक्षण मामिलाको अनुभवी संस्था ‘शेयरकास्ट इनिसियटिभ नेपाल’ ले मुलुकका ५२ जिल्ला पुगेर ३ हजार सहभागीमा गरेको सर्वेक्षणले देशको राजनीति र अर्थतन्त्रमाथि यति गम्भीर प्रश्न उठाएको हो ।तर, तिनै सहभागीहरूबाट प्राप्त अरू जवाफ नकारात्मक मात्रै छैनन्, उनीहरूले ‘देशमा केही भइरहेको’ र ‘आफ्नो जीवनमा पनि सकारात्मक परिवर्तन आइरहेको’ बताएका छन् । पाँच वर्ष पहिलेको तुलनामा देशको अवस्था र आफ्नो जीवनमा सुधार आएको बताउने संख्या ठूलो छ ।
राजनीतिक नेतृत्वका कारण आफूहरूको अझ राम्रो जीवनयापनको चाहना र उच्च संख्याको बेरोजगारीका कारणले सुधारको पाटो छोपिन पुगेको उनीहरूको बुझाइ रहेको स्पष्ट हुन्छ ।
‘देश र मेरो अवस्थामा सुधार आएको छ’
‘पाँच वर्ष पहिलेको तुलनामा देशको अवस्था’ मा सुधार भएको बताउने प्रतिशत आधाभन्दा धेरै छ । ११.६ प्रतिशतले धेरै राम्रो र ३८.९ प्रतिशतले केही न केही सुधार भएको बताउनुको अर्थ ५०.५ प्रतिशतले देशको अवस्थामा सुधार आएको देखेका छन् ।यसबाहेक अवस्था ‘उस्तै छ’ भन्ने प्रतिशत २४.२ हुँदा बिग्रिएको बताउने प्रतिशित चाहिँ २४.३ छ । १.२ प्रतिशतले ‘थाहा छैन’ र ०.१ प्रतिशतले ‘भन्न चाहन्न’ भनेका छन् । यसले ‘देशमा केही भइरहेकै छैन’ भन्ने दृष्टिकोणसँग बहुसंख्यक सर्वसाधारण सहमत छैनन् भन्ने देखाउँछ ।
देशको अवस्था जस्तै पारिवारिक अवस्थामा पनि बितेको पाँच वर्षमा सुधार भएको अनुभव गर्नेहरू धेरै छन् । ३८.८ प्रतिशत मानिसले यो बीचमा आफ्नो पारिवारिक अवस्थामा केही न केही सुधार आएको जवाफ दिएका छन् । १८.१ प्रतिशतले पारिवारिक अवस्थामा ठूलै परिवर्तन भएको जवाफ दिएका छन् । अर्थात् ५६.९ प्रतिशतले ५ वर्ष पहिलेको तुलनामा अहिले आफ्नो पारिवारिक अवस्थामा सुधार आएको बताएका छन् ।उस्तै छ भन्ने प्रतिशत २६.७ प्रतिशत मात्रै छ । त्यसैगरी ५ वर्ष पहिले भन्दा अहिलेको स्थिति बिग्रिएको भनेर १६.२ प्रतिशतले जवाफ दिएका छन् । यी १६.२ प्रतिशतमध्ये ९.८ प्रतिशतले ‘स्थिति बिग्रिएको’ र ६.४ प्रतिशतले ‘धेरै बिग्रिएको’ बताएका छन् ।
घरपरिवारमा सुधार भएको बताउने संख्या गाउँको तुलनामा सहरमा धेरै छ । गाउँ क्षेत्रका ५७.६ प्रतिशत सहभागीले आफ्नो परिवारमा सुधार आएको बताउँदा सहरी क्षेत्रमा यस्तो संख्या ५८.१ प्रतिशत छ । प्रदेशगत रूपले भन्दा मधेशमा धेरै ठूलो सुधार अनुभूति गरेको पाइन्छ ।
गण्डकीमा ४४.७ प्रतिशतले ५ वर्षको अन्तरालमा आफ्नो परिवारमा सुधार आएको जवाफ दिँदा मधेशमा यस्तो जवाफ दिने प्रतिशत ६९.५ छ । मधेशपछि सुदूरपश्चिममा बढी सुधार देखिन्छ । सुदूरपश्चिमका ६६.४ प्रतिशतले घरपरिवारमा सुधार भएको जवाफ दिएका छन् । बागमतीमा ४७.७ प्रतिशत, कर्णालीमा ५० प्रतिशत, कोशीमा ५५.१ प्रतिशत र लुम्बिनी ५५.९ प्रतिशतले पारिवारिक अवस्थामा सुधार आएको जवाफ दिएका छन् ।
तर तिनै सहभागीको मूल्यांकनमा देशको आर्थिक स्थिति र राजनीतिक अवस्था भने खराब लयमा छन् । २४.२ प्रतिशत सहभागीले देशको आर्थिक अवस्था राम्रो रहेको बताउँदा ५३.८ प्रतिशतले यो खराब र १६.५ प्रतिशतले औसत भनेका छन् । जबकि ५६.९ प्रतिशत सहभागीले आफ्नो पारिवारिक अवस्थामा चाहिँ सुधार आएको बताएका थिए ।उनै सहभागीमध्ये अझ ठूलो संख्याले देशको राजनीति गलत दिशातिर गइरहेको बताएका छन् । जम्मा १६ प्रतिशतले देशको राजनीति सही दिशामा छ भन्ने जवाफ दिंदा ६८ प्रतिशतले यो गलत दिशामा रहेको निष्कर्ष सुनाएका छन् । नेचुरल अवस्थामै रहेको बताउने संख्या ९.७ प्रतिशत र थाहा छैन भन्ने ६ प्रतिशत अनि जवाफ दिनै अस्वीकार गर्ने ०.३ प्रतिशत छन् ।
यसको सोझो अर्थ राजनीतिप्रति धेरै नागरिकको चासो छ, र उनीहरूको बुझाइमा राजनीति गलत दिशामा छ र यसलाई सच्याउन आवश्यक छ ।
नेता सुध्रिएनन्, भ्रष्टाचार बढ्यो
५ वर्षको तुलनामा मुलुक र परिवारमा सुधार देख्ने प्रतिशत धेरै भएपनि राजनीति गलत दिशातिर गइरहेको निष्कर्ष निकाल्नुमा नेतृत्वप्रति नागरिकमा चरम असन्तुष्टि रहेको बुझ्न सकिन्छ । देश गलत दिशातिर जानुका कारण सोध्दा दिइएको जवाफले पनि यो पुष्टि हुन्छ ।
जवाफको छैटौं नम्बरसम्म राजनीतिक नेतृत्वसँग सम्बन्धित कारण दिइएको थियो । मुलुक गलत दिशातिर जानुमा भ्रष्टाचार ५४.६ प्रतिशत, कमजोर राजनीतिक नेतृत्व ४२.९ प्रतिशत, राजनीतिक अस्थिरता ३५.५ प्रतिशत, नेतृत्वबाट जनताको अपेक्षा पूरा नहुनु ३१.७ प्रतिशत, नातावाद २२.४ प्रतिशत, सरकारको कमजोर सेवाप्रवाह २२ प्रतिशत र पार्टीभित्रको कलह १९.२ प्रतिशत भएको जवाफ दिइएको छ । यसमा सहभागीलाई एकभन्दा बढी कारण छनोट गर्ने विकल्पहरू दिइएका थिए ।
यी समस्याहरू राजनीतिक नेतृत्वसँगै जोडिएका मामिला हुन् । जबकि सर्वेक्षणमा वर्तमान राज्य प्रणाली, नागरिक सचेतना, न्यायिक सम्पादन, नागरिक समाज र मिडिया भूमिका लगायत अरू पनि विकल्प छनोटको अवसर थियो । तर, आम उत्तरदाताले अरू विषयवस्तुको तुलनामा राजनीतिक नेतृत्वसँग सम्बन्धित समस्यालाई प्राथमिकताका साथ उल्लेख गरेका छन् ।दिशातिर गइरहेको छ भन्ने प्रश्नमा सकारात्मक दिशातिर गएको भन्नेहरूमध्ये कुन कारणले मुलुक सकारात्मक दिशातिर गइरहेको छ ? भन्ने प्रश्नको जवाफमा १०.६ प्रतिशतले मात्रै ‘राजनीतिक नेता’ लाई जस दिएका छन् । ४०.८ प्रतिशतले देश सकारात्मक दिशातिर जानुमा कुनै नेताको भूमिका नभई ‘पूर्वाधार विकास’ लाई श्रेय दिएका छन् ।
यस्तै १५.८ प्रतिशत मानिसले सेवा सुविधामा पहुँच विस्तार भइरहेको छ भनेका छन् । देश बन्दै गरेको छ भन्ने कसरी मान्नुहुन्छ भन्ने प्रश्नमा १०.४ प्रतिशतले सामाजिक विकास, ५.२ प्रतिशतले सुध्रिएको सुरक्षा व्यवस्था र १ प्रतिशत सहभागीले आर्थिक विकास भनेका छन् । मुलुक सकारात्मक दिशातिर जानु स्वभाविक प्रक्रिया भएको ठान्नेहरू ७.१ प्रतिशत छन् ।
राजनीतिक दलको नेतृत्वमा रहनेहरूको पृष्ठभूमि हेर्दा पनि सर्वेक्षणबाट आएको नतिजा स्वभाविक लाग्छ । किनकि अहिले मुलुकको नेतृत्व गरिरहेका लगभग सबै नेता पञ्चायतविरुद्ध लडेर आएका हुन् । प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका प्रमुखले तीन पटकभन्दा बढी मुलुकको नेतृत्व गरिसकेका छन् ।
शेरबहादुर देउवा पाँच पटक, केपी शर्मा ओली चार पटक र पुष्पकमल दाहाल प्रचण्ड तीन पटक प्रधानमन्त्री भइसकेका छन् । चरम अस्थिरता कायमै भएकोले अझै पनि यिनैमध्ये कोही पटक-पटक प्रधानमन्त्री हुनसक्ने सम्भावना कायमै छ । त्यस्तो बेलामा गरिएको सर्वेक्षणमा भाग लिएका सहभागीले नेतृत्वप्रति यति चर्को असन्तुष्टि जनाउनु स्वभाविक लाग्छ ।
सबभन्दा ठूलो समस्या ‘बेरोजगारी’
सर्वेक्षणका सहभागीहरूले देशको समस्याबारे आमअपेक्षा बमोजिमकै जवाफ दिएका छन् । उनीहरूको जवाफअनुसार देशले खेपिरहेको अहिलेको मुख्य समस्या हो– बेरोजगारी ।
आमजीवनले खेप्नुपर्ने अरू थुप्रै समस्यालाई विकल्पका रूपमा प्रस्तुत गर्दा पनि सर्वेक्षणका सहभागीहरूले बेरोजगारीलाई मुख्य समस्या ठानेका छन् । सर्वेक्षण अनुसार, ६१.२ प्रतिशत अर्थात् सर्वेक्षणमा भाग लिएका मध्ये एक हजार आठ सय ३१ जनाले देशको मुख्य समस्या बेरोजगारी भनेका छन् ।
उनीहरूले यसपछि मात्र गरिबी तथा अभाव ३०.८ प्रतिशत, जीर्ण सडक २६.७ प्रतिशत, भ्रष्टाचार २४.५ प्रतिशत, महँगी २२.५ प्रतिशत, गुणस्तरीय शिक्षाको अभाव २१.३ प्रतिशतलाई समस्या मानेका छन् ।
देशको समस्याहरूमा राजनीतिक अस्थिरतालाई कारण देख्ने संख्या सातौं नम्बरमा छ । १३.३ प्रतिशत सहभागीले मात्रै देशको मुख्य समस्यालाई राजनीतिक अस्थिरता भनेका छन् ।