नैतिक पतन देखिने फौजदारी कसुर गरेको ठहर गर्दै मदन राईलाई बालयौन दुरूपयोगमा साढे दुई वर्ष कैद सजाय

कृषि विज्ञका रूपमा परिचित र आफैले खोलेको ‘शुभद्रा मदन फाउन्डेसन’ मा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गरेका मदन राईलाई साढे दुई वर्ष कैद सजाय तोकिएको छ।

जिल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले शुक्रबार मदन राईलाई साढे दुई वर्षको कैद सजाय तोकेको तहशिलदार सुदिपकुमार भट्टराईले जानकारी दिए।

यस कसुरमा एक लाख रुपैयाँ जरिवाना र एक लाख ५० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति दिन पनि आदेश भएको हो।

भट्टराईका अनुसार इजलासले राईलाई नैतिक पतन देखिने फौजदारी कसुर गरेको पनि ठहर गरेको छ।

यस कसूरमा माघ १० गते न्यायाधीश दाहालको इजलासले दोषी ठहर गरेको थियो।

२०८० जेठ २१ गते सरकारी वकिलको कार्यालय खोटाङले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।

उनीविरूद्ध बालबालिका ऐनको दफा ६६ को उपदफा ३ बमोजिम विभिन्न कसुर गरेको भन्दै सजायको मागदाबी गरेको थियो।

मदन राईले बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ को उपदफा ३ (क), (ग,) (ङ) कसुर गरेकाले, दफा ६७, दफा ७२ र ७५ को ३ (ख) अनुसार सजाय गर्न माग भएको थियो।

ती व्यवस्था अनुसार बालबालिकाका अगाडि अश्लील तथा यौनजन्य आचरण वा व्यवहार झल्कने अभिव्यक्ति वा हाउभाउ प्रदर्शन गर्ने कार्यलाई बाल यौन दुर्व्यवहार गरेको मानिन्छ। यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गर्ने, फकाउने, दबाब दिने वा धम्काउने कार्यलाई पनि बाल यौन दुर्व्यवहार गरेको मानिन्छ।

र यौनजन्य मनसायले शरीरको संवेदनशील अंगमा स्पर्श गर्ने, चुम्बन गर्ने, समाउने, अंकमाल गर्ने वा आफ्नो वा अरू कसैको शरीरको संवेदनशील अंग छुन वा समाउन लगाउने वा यौनजन्य मनसायले बेहोस पार्ने वा यौनजन्य अंग प्रदर्शन गर्ने वा गर्न लगाउने कार्य पनि कानुनले यौन दुर्व्यवहार भनेको छ।

उक्त कसुर गरेकाले ७५ को उपदफा ३ (ख) अनुसार ७५ हजार रुपैयाँ जरिवाना र ३ वर्षसम्म कैद सजाय माग गरेको थियो।

Please follow and like us:
Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *