
२ माघ, काठमाडौं । कालिमाटीको स्वर्णलक्ष्मी सहकारीमा बचतकर्ताको १ अर्ब १९ करोड रुपैयाँ बढी अनियमितता भएको प्रकरणमा रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश भएको छ ।
जिल्ला अदालत, काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । अदालतको आदेशपछि लामिछानेले धरौटी बापतको बैंक ग्यारेन्टी पेश गरेका छन् ।उनलाई जिल्ला अदालत कास्कीले समेत पोखराको सूर्यदर्शन सहकारीमा अनियमितता प्रकरणमा ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । रविविरुद्ध इलाका प्रहरी कार्यालय, बुटवलले अनुसन्धान गरेर रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ ।
जिल्ला प्रहरी कार्यालय, चितवनले पनि उनी जोडिएको साहारा चितवन सहकारी प्रकरणमा अनुसन्धान गरिरहेको छ । तर, कास्कीमा पनि उनी धरौटी बुझाएपछि छुटेर आफैं अदालतमा हाजिर भएको हुँदा काठमाडौंमा पनि त्यही नीति अपनाइने एक प्रहरी अधिकृतले बताए ।‘कास्कीमा उनलाई छाडिएकाले काठमाडौंमा पनि त्यही अनुसार गर्छौं, बरु अन्यत्र रहेको मुद्दामा पनि उहाँसँग आफैं उपस्थित हुने प्रतिबद्धता माग्छौं’, ती अधिकृतले भने ।