२७ मंसिर काठमाडौं । त्रिभुवन विश्वविद्यालको सभाले बिहीबार १२ बुँदे नीति पारित गर्यो । तर, नीति पारित गर्नुअघि सभाका सदस्यहरूले कुलपति र उपकुलपतिमाथि प्रश्नै प्रश्न गरे । सभाको अध्यक्षता गरेका प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले सभालाई अगाडि बढाएपछि एजेन्डा समयमा नपाएको भन्दै सदस्यहरूले बोल्न समय मागे । १५ दिनअघि पाउनुपर्ने एजेन्डा सभा बस्नु एक घण्टाअघि मात्र पाएको भन्दै सदस्यहरूले गुनासो गरे ।
जवाफमा प्रधानमन्त्री ओलीले अघिल्लो नीति तथा कार्यक्रममा वितरण गरिएको बताए । ‘पहिले नै वितरण गरेको एजेन्डा हो । नीति तथा कार्यक्रममा आएका विषयलाई संक्षेपीकरण गरेर ल्याएको हो,’ उनले भने ।कुलपति ओलीले एजेन्डामा छलफल गर्न बारम्बार आग्रह गरे । तर, प्रक्रिया नमिलेको भन्दै कतिपय सदस्यले सभा छोड्ने चेतावनी दिए । ‘विधि सम्मत भएन एजेन्डा १५ दिनअघि नै आउनु पर्ने हो । एक घण्टा अघि ह्वाट्सएपमा पठाएर हुँदैन । भीसी घरबाट चलाउने हो ?,’ सभाका सदस्य वसन्त ढकालले भीसीलाई प्रश्न गर्दै भने, ‘सभामा भाग लिन उपयुक्त छैन । सभा छोडेर जान अनुमति माग्दछु ।’
त्यसैगरी सभाका सदस्य छत्र कार्कीले पनि कर्मचारीको मागका विषय एजेन्डमा नआएको भन्दै पदाधिकारीको विरोध गरे । आर्थिक भार पर्ने भन्दै कर्मचारीको विषय एजेन्डामा नआएकोले सभा नचल्ने चेतावनी उनले दिए ।‘कर्मचारीले उठाएको विषय किन आएन ? आर्थिक भार पर्ने भएकाले अर्को सभामा गर्ने भनियो । यसको जवाफ चाहिन्छ । अन्यथा सभा चल्दैन,’ उनले चेतावनी दिए ।त्यसपछि प्रधानमन्त्री एवम् सभाका अध्यक्ष कुलपति ओलीले चेतावनी नदिन सचेत गराए । ‘कुरा राख्नुहोस् । छलफल गरौं । तर, मैले भनेको हुनुपर्छ । नत्र सभा चल्दैन भनेको के हो ?,’ सभालाई अगाडि बढाउँदै ओलीले भने ।
‘मैले राजीनामा दिए अर्को आउँछ । भीसीले राजीनामा दिए अर्को आउँछ । सभा छोड्ने कुरा नगरौं,’ प्रधानमन्त्री ओलीले भने ।सभामा सामुदायिक क्याम्पसबाट सहभागी भएका सदस्यहरूले गणतन्त्रको अनुभव गर्न नपाएको दुखेसो कुलपतिसामु राखे । सामुदायिक विद्यालयलाई छुट्टै विश्वविद्यालय बनाउनु पर्ने माग उनीहरूको छ ।
सभाका सदस्य एवं जनभावना क्याम्पस प्रमुख शिवराज सञ्जेलले सामुदायिक क्याम्पसको एजेन्डा थप गर्न माग गरे । कुलपति ओलीले यो विषय एजेन्डामा परेको जवाफ फर्काए ।
सभामा १२ वटा एजेन्डा पेस गरिएको थियो । तर, एजेन्डाभन्दा बाहिर गएर सदस्यहरू बोल्न थालेपछि कुलपति ओलीले रोक्ने प्रयास गरे ।
पुल्चोक क्याम्पसका स्ववियु सभापति विराज अर्यालले उपकुलपति प्राडा केशरजंग बरालमाथि प्रश्न गरे । ‘आधा समय घरमा बस्नुहुन्छ । आधा समय मिडिया ट्रायल गर्नुहुन्छ,’ उनले आरोप लगाए । विद्यार्थीको उत्तरपुस्तिका हराउनेलाई कारबाही नगरेको र डिन नियुक्ति नगर्नुको कारण उनले सोधे ।‘मेरिटोक्रेसीको नाममा आफ्नो मान्छे नियुक्ति गर्ने कस्तो मेरिटोक्रेसी ? आजसम्म डिन नियुक्ति किन नभएको,’ उनले प्रश्न गरे । फेरि कुलपति ओली बोले । समय धेरै घर्किएकाले एजेन्डामा प्रवेश गर्न ओली हतारिए । उनले उत्तेजनामा नआउन फेरि सदस्यहरूलाई सचेत गराए । र, एजेन्डा प्रि–सिनेटमा टुंगिएर नआएकोमा कुलपति ओलीले असन्तुष्टि पनि जनाए ।
‘एउटा शैली हुन्छ । नत्र…भन्ने शैली नगरौं । विषय टुंगिएर आउनु पर्थ्यो । किन ढिलो भो, ढिलो भो । यो सिनेट हो । उत्तेजना छोडौं । तर्क राखौं,’ ओलीले भने ।
नेपाल ल क्याम्पसका सभापति एवं सभा सदस्य विष्णु ढुंगेलले विधि प्रक्रियाबाट आएका उपकुलपतिलाई सुनियोजित ढुंगबाट प्रहार नगर्न चेतावनी दिए । ‘यसमा उपकुलपतिको मात्र दोष हो ? विधि प्रक्रियाबाट आउनु भएको भीसी हो । सुनियोजित ढंगबाट प्रहार गर्ने ?,’ भीसीको बचाउमा उभिए उनी । त्रिविलाई संघीयता अनुसार प्रदेशमा पनि लैजान र दीक्षान्त समारोहको मोडेल परिवर्तन गर्न पनि उनले माग गरे ।त्रिविका स्ववियु सभापति एवं सभा सदस्य श्यामराज ओझाले विद्यार्थीले छात्रवृत्ति पाउनु पर्ने व्यवस्था गर्न माग गरे । नीजिले छात्रवृत्ति दिए नदिएको बारे पारदर्शी नभएकाले त्यसमा ध्यान दिन उनले आग्रह गरे । विद्यार्थीको जीवन बीमाको व्यवस्था गर्न उनले माग गरे । कुलपति ओलीले बीमाको व्यवस्थामा छुट्टै छलफल गर्नुपर्ने जवाफ दिए ।
प्रधानमन्त्री ओलीले सभाका सदस्यलाई परिपक्व हुन आग्रह गरे । ‘यस्तो छलफल कुनै सिनेटमा भएको छैन । पूर्वाञ्चल, सुदूरपश्चिम, मध्यपश्चिम, दाङ सबैको सिनेट सञ्चालन गरे । अलिकति परिपक्व हुन आग्रह गर्दछु,’ प्रधानमन्त्री ओलीले भने ।त्यसैगरी सिनासका निर्देशक प्राडा मृगेन्द्र कार्कीले एजेन्डाको ८ नम्बर बुँदा हटाउन माग गरे । उक्त बुँदामा केन्द्रीय विभाग र विभिन्न स्कुलको रूपमा सञ्चालित निकायहरूको पुनर्संरचना गर्ने र अनुसन्धान केन्द्रलाई सम्बन्धित स्कुलमा गाभ्ने सम्बन्धमा आवश्यक प्रक्रिया अगाडि बढाइने उल्लेख थियो । यो एजेन्डा सभाले अगाडि नबढाउने निर्णय गर्यो । १२ वटा एजेन्डा पेस गरेकोमा एउटा ‘होल्ड’ गरियो भने एउटा थप गरेर सभाबाट पारित गरियो ।