
नवनियुक्त मुख्यसचिव लीलादेवी गड्तौलाले आफूलाई तोकिएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
मन्त्रिपरिषद बैठकले हिजो मुख्यसचिवमा नियुक्त गरेपछि सञ्चारमाध्यमहरुलाई प्रतिक्रिया दिँदै उहाँले छोटो समयमा जति सकिन्छ, परिणाम देखिने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभएको हो । उहाँले जस्तो कर्म गर्यो, त्यस्तै फल प्राप्त हुने भन्दै निजामति सेवामा राम्रै कर्म गरेको परिणामस्वरुप आफूलाई महत्त्वपूर्ण जिम्मेवारी प्राप्त भएको बताउनुभएको छ ।
वर्तमान सरकारले पहिलो मन्त्रिपरिषद्बाटै आफूलाई कायममुकायम सचिवको जिम्मेवारी दिएको र अहिले मुख्यसचिवमै नियुक्त गरेकोमा उहाँले सरकारप्रति आभार प्रकट गर्नुभएको छ । इमानदार भएर काम गरेमा कहीँ न कहीँ मूल्याङ्कन र अवसर प्राप्त गर्ने रहेछ भन्ने सन्देश समस्त निजामति कर्मचारीमा गएको बताउँदै मुख्यसचिव गड्तौलाले महिलालाई माथिल्लो तहको जिम्मेवारी दिन हिचकिचाउँछन् भन्ने भाष्य परिवर्तन हुँदै गएको पनि बताउनुभयो ।
निजामती कर्मचारीमा प्रवेश गरेका कर्मचारीमा मुख्यसचिव बन्ने लक्ष्य हुने बताउँदै उहाँले भन्नुभयो, ‘त्यसमा केही पुगिन्छ, कोही पुगिन्न । केही सचिव र सहसचिवमा पुगिन्छ, कोही तलैबाट बाहिरिनुपर्छ । भाग्य छ भन्दैमा डोकोमा दूध अडिन्न, कर्म गर्नुपर्छ, राम्रो कर्म गरे राम्रो फल पाइन्छ ।’ राज्यबाट नागरिकलाई प्रदान गरिने सेवाप्रवाहमा सहज र सरल तुल्याउन सबै राष्ट्रसेवक निजामति कर्मचारी मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ ।
उहाँले संसदमा अड्किरहेको निजामति विधेयकलाई अघि बढाउन र राम्रो कर्म गर्ने कार्यलाई प्रोत्साहन र प्रेरणा प्रदान गर्न आफू लागिपर्ने दृढता पनि व्यक्त गर्नुभयो । वि.सं. २०२३ साल भदौ १५ मा तेह्रथुममा जन्मनुभएकी गड्तौला वि.सं.२०५२ मा नेपालको निजामति सेवाको न्याय समूहको शाखा अधिकृतबाट राष्ट्र सेवामा प्रवेश गर्नुभएको हो ।
उहाँ वि.सं. २०६३ मा उपसचिव, वि.सं. २०७० मा सहसचिव, २०७७ मा सचिवमा बढुवा हुनुभएको थियो । उमेर हदका कारण उहाँ आउँदो भदौ १५ देखि सेवा निवृत्त हुनुहुनेछ । उहाँ नेपालको प्रशासनिक इतिहासमा पहिलोपटक महिला मुख्यसचिव बन्नुभएको हो ।