तमिलका दलित सिनेमाले देखाएको मार्ग

नेपालमा मन्त्रिपरिषद् गठन गर्दा होस् वा राजदूत नियुक्त वा अन्य कुनै संवैधानिक पदमा नियुक्ति गर्दा होस्-दलितको प्रतिनिधित्व नगण्य हुन्छ । संविधानले नै समानुपातिक प्रतिनिधित्वलाई बाध्य पारिएका संस्थाहरू बाहेकमा शासकको स्वविवेकले प्रतिनिधित्व सुनिश्चित गर्न अझै सकेको छैन । शासन व्यवस्थामा उनीहरूलाई ‘बाहिरै’ राख्ने प्रचलन जारी छ ।

नेपालमा शासन व्यवस्थामा मात्र होइन; कला, साहित्य, सिनेमामा पनि दलितको प्रतिनिधित्व चित्तबुझ्दो छैन । भर्खर-भर्खर सिनेमाको मुख्य पात्र वा दोस्रो मुख्य पात्रमा दलित देखिएका त छन् तर ती पात्रहरूले बहुसंख्यक समुदायले दलितप्रति सदियौंदेखि राखिआएका धारणालाई नै प्रस्तुत गरिरहेका हुन्छन् । दलितको मुद्दा हल्लाफुल्का तरिकाले पर्दामा ल्याउने शैलीले गर्दा सिनेमाले एउटा ठूलो समाजलाई यो मुद्दा सुल्टो तरिकाले बुझाउन चुकिरहेको छ ।

सिनेमामा कसरी दलितको मुद्दा र यसका चरित्रलाई सही तरिकाले देखाउन सकिन्छ भन्ने उदाहरण छिमेकी देश भारतको क्षेत्रीय सिनेमामा भेटिन्छ । नेपालको र त्यहाँको जात व्यवस्थाको आधार लगभग समान हुने भएकाले पनि त्यहाँ सिनेमा मार्फत यो मुद्दामा भएका काम हाम्रा लागि पनि ‘अनुकरणीय’ हुनसक्छन् । 

पछिल्लो समय तमिल भाषामा बन्ने गरेका सिनेमामा दलित पात्रहरूले प्रमुख भूमिका निर्वाह गर्दै आफ्नो मुद्दालाई राम्ररी सम्प्रेषण गर्ने गरेको देखिन्छ । तिनैमध्ये केही चर्चित दलित सिनेमा जस्तो कर्नान, असुरन, सारपट्टा परम्बराई, पेरियरम पेरुमल, जय भीम लगायत नेपाली दर्शकको एउटा वर्गसामु पनि चर्चित छ । यीमध्ये असुरन (२०१९) र कर्नान (२०२१) आफ्नो विषयवस्तुको प्रस्तुतिका हिसाबमा मलाई मनपरेका दलित केन्द्रित सिनेमा हुन् ।

यी दुवै सिनेमाको मुख्य समानता हो-दलित विद्रोहलाई प्रतिहिंसा मार्फत सम्प्रेषण गर्नु । दुवै सिनेमाका पात्रहरूले समाजमा रहेको यथास्थिति, विभेदलाई प्रतिहिंसा मार्पmत नै भए पनि प्रश्न गर्न, आफ्नो ‘भाग’लाई जोगाएर राख्न प्रेरित गरेका छन् । बोल्दा, चिच्याउँदा, जति नै गरे पनि नसुनेपछि कसरी, कुन पृष्ठभूमिमा एउटा सरल पात्र आक्रामक हुन सक्छ र त्यसले समाजको व्यवस्थालाई नै खल्बल्याउन सक्छ भन्ने यी सिनेमाका कथाका मुख्य सार हुन् ।

सिनेमाको मुख्य भूमिकामा अभिनेता धनुष छन् । धनुषले सन् २०११ को हिन्दी फिल्म राझंना मा ‘कुन्दन’ को पात्र निभाएका थिए । त्यसैले पनि उनको अनुहार हिन्दी सिनेमा हेर्ने दर्शकका लागि नयाँ लाग्दैन । अर्को समानता दुवै सिनेमामा विद्रोह मुख्य थिम रहेको छ । दलितको मुद्दाको बहुआयामिक पाटो हेर्न र बुझ्नका लागि यी दुवै सिनेमाले सघाउँछ ।

असुरन का निर्देशक भेट्रीमारनले जमिनलाई केन्द्रमा राखेर यो मुद्दालाई प्रकाश पारेका छन् । दलित समुदायसँग जोडिएर आउने असाध्यै महत्वपूर्ण विषय भूमिको स्वामित्व हुने गर्छ । जमिनमै टेकेर दलित समुदाय उभिएको हुन्छ । जमिन नभएकैले तिनको हौसियत कमजोर हुने गर्छ । असुरन को कथाको मुख्य पात्र त्यसैले जमिन भएको छ । ब्रिटिश शासनकालमा एउटा गाउँमा दलित समुदायको सामाजिक-आर्थिक हैसियत समान होस् भनेर एकडौं जमिन दिइन्छन् । जमिनमा हुने उब्जनीको कारण उनीहरूको जीवनस्तर केही हदसम्म उकासिन्छ । खानाको जोहो गर्न सक्छन् । केही हदसम्म आत्मनिर्भर पनि हुन्छन् ।

सिनेमाको गाउँमा ब्रिटिश सरकारबाट जमिन पाएका दलित समुदायका व्यक्तिहरूले परिवारमा ठूलो कार्य, जस्तै बिहेवारी गर्दा वा बिरामी पर्दा स्वास्थ्य उपचारका लागि चाहिने नगदको जोहो गर्ने वातावरण भने छैन । नगद जोहो गर्न शिक्षा र रोजगारीमा पनि त्यति नै लगानी गर्नुपर्छ । यसो नहुँदा फेरि पनि नगदका लागि तिनै कथित उच्च जातका व्यक्तिमाझ पुग्नुपर्छ । ती गाउँका बासिन्दा पनि उच्च जातिका मानिसहरूसँग आफ्नो जमिन बन्धकी राखेर पैसा लिन बाध्य हुन्छन् । कालान्तरमा ऋणको ब्याज-स्याज गरेर उनीहरूको जमिन हडपिन्छ । यसरी हडपिएको भूमि फिर्ता ल्याउने संघर्षको कथाको ‘सबप्लट’ शिवसामी (धनुष)को पात्र मार्फत भनिएको छ ।

भूमि, रोजगारी, सामाजिक मनोविज्ञानको पक्षमा देखापर्ने विभेदको अनेकन् तहलाई पनि सिनेमाले उजागर गरेको छ । सिनेमाको एउटा दृश्यमा, दलित समुदायका व्यक्तिहरूले चप्पल लगाएर हिंड्दा उच्च जातको बराबरी गर्न खोजेको भनेर त्यही चप्पल टाउकोमा बोकाएर गाउँभरि डुलाइन्छ । उच्च जातको मालिककोमा वर्षौं उसैलाई फाइदा हुने काम गर्दा पनि किन यस्तो अविच्छिन्न बफादारी काम लाग्दैन र मालिक उसैलाई मार्न समेत उद्यत हुन्छ ? र, आक्रमण गरिंदा पनि किन प्रहरी तथा प्रशासनले उनीहरूलाई सहयोग गर्दैन ? यी प्रश्न दलित समुदाय बसोबास गर्ने दक्षिण भारतको हरेक गाउँ-शहरका लागि सान्दर्भिक छ ।

शक्तिशालीकै पक्ष लाग्ने शासन-प्रशासनको मनोविज्ञान सशक्त गरी उधिनेको छ अर्को सिनेमा कर्नान ले । सिनेमा हेर्दा लाग्छ, दलितमाथि हुने विभेदको तह पनि कति-कति ! यो सिनेमामा पोडियानकुलाम भन्ने गाउँ छ, जहाँ बसस्टप त छ तर बस रोकिंदैनन् । स्टप हुँदाहुँदै यस गाउँमा बस नरोकिनुको कारण हुन् यहाँका दलित बासिन्दा । दलितलाई सरकारले नै बनाइदिएको सवारी पूर्वाधारको उपयोग गर्न समेत दिइन्न । यसरी बस नरोकिंदा समयमै उपचार नपाएर ज्यान गुमाउनु, रोजगारीका लागि असहज हुनु, समयमै विद्यालय वा कलेज पुग्न नसक्नु यो गाउँका बासिन्दाको दैनिकी भइरहेको हुन्छ । यो दैनिकी बदल्नका लागि गाउँवासीले गर्ने द्वन्द्व नै सिनेमाको मुख्य कथा हो ।

आफ्नो गाउँको छेउमा सरकारी वा निजी क्षेत्रबाट चल्ने कुनै पनि बस नरोकिंदाको पीडादायी वर्णन गर्दै सिनेमाले दलित समुदायको आक्रोशलाई विस्तारै विस्तारै विस्फोटको नजिक ल्याइपुर्‍याइदिन्छ । आफ्नो दैनिकी चलाउन पनि कथित उच्च जातको गाउँको अर्को बसस्टप जानुपर्ने बाध्यता र यसले भरिदिने विद्रोही चेतलाई दर्शकलाई समेत आभास हुने गरी सिनेमामा आएको छ । यहाँ पनि उनीहरू सुरुमा सरकारको सहारा खोज्न पुग्छन् । सबैको सहमतिमा सम्बन्धित सरकारी कार्यालयमा आफ्नो गाउँको स्टपमा बस रोकिदिनका लागि उनीहरूले आग्रहपूर्ण निवेदन दिन्छन् । तर, त्यसको कुनै सुनुवाइ हुँदैन । रद्दीको टोकरीमा मिल्काइन्छ ।

यही सिलसिलाको बीच अचानक एक दिन कथालाई मोड्ने घटना भइदिन्छ । गाउँको एउटा बालक आफ्नो गर्भवती आमाका लागि बस रोक्न गाउँकै स्टपमा आइपुग्छ । आउजाउ गर्ने हरेक गाडीलाई हात दिन्छ तर गाडी रोकिंदैन । त्यसपछि त्यो बालकले ढुंगा उठाउँछ र रोक्न नमानेको बसको भ्mयालको सिसामा हिर्काउँछ । खासमा त्यो बस एउटा बिम्ब पनि हो । अति नै भएपछि, बससँगै सवार कथित उच्च जातको दमनलाई तोड्नका लागि अन्तिम उपाय ढुंगा नै हुने गर्छ । जातको आधारमा दमन गर्नेलाई चिरनिद्राबाट उठाउनका लागि केही धमाका गर्नैपर्छ । त्यसले नै परिवर्तन निम्त्याउँछ । यति सुन्दर चेतना पस्कने सिनेमाले दलित समुदायका व्यक्तिलाई त झकझक्याउँछ नै, त्यो समुदायलाई बेवास्ता गर्ने वा सहानुभूति राख्ने दुवै पक्षलाई पनि यसले दलित भोगाइको गहिराइमा पुर्‍याउँछ ।

यी दुवै सिनेमालाई ‘दलित रेज’ ले अघि बढाएको छ । सदियौंको दलनलाई नयाँ पुस्ताले सहन अस्वीकार गरेर हिंसाको प्रतिवाद गर्दा हिंसाले नै गरिएको छ । पुलिस स्टेसनमा दलित समुदायका बुढापाकालाई माथिल्लो जातको नाम राखेर हाम्रो बराबरी गर्छौ भन्दै डण्डा बर्र्साएको पुलिस अधिकारीलाई सिनेमाको क्लाइमेक्समा उस्तैगरी मारिएको दृश्य दर्दनाक हुँदाहुँदै पनि ‘स्याटिस्सफाइङ’ लाग्छ ।

असुरन र कर्नान जस्ता सिनेमाको एकमात्र कमजोर पक्ष भनेको यसमा प्रयोग ‘हाइपर म्यास्कुलिन’ एनर्जी हो । जसमा महिला पात्रहरू अरू मूलधारे कमर्सियल सिनेमामा झैं आमा, प्रेमिका, दिदी वा बहिनीमा नै सीमित हुन पुगेका छन् । उनीहरूको आफ्नै ‘क्यारेक्टर आर्क’ छैन । मुख्य पात्रकै कथालाई अघि बढाउन मात्र महिला पात्रको प्रयोग भएको छ ।

भनिन्छ महाभारतकालीन कर्णलाई अर्जुनले छल गरेर मारेका हुन् । तर, समाजले बनाएका कलियुगका ‘कर्ण’ले त्यस्ता छललाई परास्त गरेर युद्घ जित्दैछन् । दलित पात्रले नै मुख्य भूमिका निभाएर आफ्नो जातिको ‘एजेन्सी’ मार्फत मुक्ति पाउने कथा सिनेपर्दामा हेर्न पाउनु नयाँ भविष्यको सुरुआत हो ।

जसको मुद्दा हो, त्यसले नै आफ्नो कुरा सशक्त तरिकाले भन्न सक्छ भनेरै यस्ता सिनेमा बनाइँदा लेखन, निर्देशन, प्रस्तुति र निर्माणका अन्य पक्षमा पनि दलित समुदायको उपस्थिति अर्थपूर्ण हुन्छ । भारतका क्षेत्रीय सिनेमा उद्योगमा यस्ता उपस्थितिहरू आफैंमा एक विद्रोह हो । नेपाली सिनेमाको हकमा मूलधारे सिनेमा लेखन, निर्देशन वा निर्माणमा दलितहरू नआइपुगे पनि म्युजिक भिडियो र डकुमेन्ट्री निर्माण, लेखन र निर्देशनसम्म आइपुगेका छन् । उनीहरूको मूलधारे सिनेमासम्मकोे यात्रा धेरै टाढाको नहोस् भनेर वातावरण बनाउने काम सरोकारवालाकै हो ।

Please follow and like us:
Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *