ठेक्का तोड्ने चेतावनीपछि पोखरा–मुग्लिन सडकमा बढ्यो कामको गति

पोखरा । केही समयअघि पोखरामा भएको एक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पोखरा-मुग्लिन सडक निर्माणमा भएको ढिलाइप्रति व्यङ्ग्य गरे, ‘राजमार्ग छिट्टो बनाउनेमा भारतीय कम्पनीले रेकर्ड राखेको छ । यो सडक कसले बनाइरहेको छ ? किन ढिलो भइरहेको छ ?’ 

उनको व्यङ्ग्य चीनप्रति थियो । पोखरा–मुग्लिनको दुवै खण्डको ठेक्का चिनियाँ कम्पनीले पाएको छ । दुईवटै ठेक्कामा लक्ष्यअनुसार प्रगति भएको छैन । पूर्वीखण्डमा सन्तोषजनक काम भए पनि पश्चिम खण्डमा कामको गति निकै सुस्त छ । 

काम सुस्त भएपछि सरकारले ठेक्का तोड्ने तयारी गर्यो । अघिल्लो महिना अन्तिम पटक भनेर एक महिनाका लागि निर्माण कम्पनीलाई कामको प्रगति बढाउन मौका दिइयो । एक महिनाका लागि दिइएको समयमा निर्माण कम्पनीले कामको रफ्तार केही बढाएको छ । तनहुँको जामुनेदेखि पोखरासम्मको सडकमा अहिलेसम्म १४ प्रतिशत मात्रै काम भएको छ । स्तरोन्नतिका लागि सम्झौता अनुसारको समय ठ्याक्क ९ महिना बाँकी छ । तर कोरोना अवधिको ६ महिना थप हुँदा १५ महिनासम्मको सहुलियत ठेकेदार कम्पनीले पाउँछ । 

सम्झौता अनुसारको मितिमा काम सक्न रातदिन काम गरिरहेको निर्माण कम्पनीका कन्ट्रयाक्ट म्यानेजर फाङ इफाले बताए । चिनियाँ ठेकेदार कम्पनी अनहुइ काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले यसको ठेक्का पाएको थियो । ‘३ वर्षको ठेक्कामा कोभिडको ६ महिना सहुलियत पाइन्छ । करार अनुसारको ९ महिना पनि बाँकी छ । १५ महिना भनेको ठुलो अवधि हो,’ उनले भने, ‘बिजुली र खानेपानीको लाइनका कारण केही समस्या अझै छ । नत्र कटिङ लगभग सकिएको छ । रुख हटाउने काम पनि सकियो । अब चाहिँ कामको रफ्तार बढ्छ ।’ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *