जेलेन्स्कीसँग चर्काचर्की भएको ७२ घण्टामै ट्रम्पले रोके युक्रेनलाई दिइरहेको सैन्य सहायता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई दिइरहेको सबै सैन्य सहायता अस्थायी रूपमा रोकेका छन्।

यो निर्णय तुरुन्तै लागू हुने र यसले युक्रेनलाई दिने प्रकृयामा रहेको एक अर्ब डलरभन्दा बढीको हतियारलाई प्रभाव पार्ने भनेर ट्रम्प सरकारका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै द न्यु योर्क टाइम्सले लेखेको छ। ती अधिकारीका अनुसार सोमबारको सो निर्णय ट्रम्पले उनका वरिष्ठ राष्ट्रिय सुरक्षा अधिकारीहरूसँग धेरै बैठकहरू गरेपछि लिइएको हो।

ट्रम्पको यो आदेशले युक्रेनलाई दिइने दसौं करोड डलर पैसा पनि रोक्नेछ। युक्रेन सुरक्षा सहायता पहलमार्फत् दिइने यो पैसाले युक्रेनले रूससँग लड्न अमेरिकी हतियार उत्पादकहरूबाट सिधै नयाँ सैन्य सामाग्री किन्न पनि सक्छ।

युक्रेनले रूससँग शान्ति वार्ता गर्न प्रतिबद्धता देखाएको ट्रम्पले निर्धारण नगरिञ्जेल यो आदेश लागू हुने ती अधिकारीले बताएका छन्।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको शुक्रबार ह्वाइट हाउसमा ट्रम्प र अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग भएको चर्काचर्कीको ७२ घण्टा नपुग्दै ट्रम्पले युक्रेनलाई दिइरहेको सहायता रोकेका हुन्।

युक्रेनप्रति आक्रामक नीति अँगालेका ट्रम्पको विदेश नीति रूससँग मिल्ने भएको भनेर रूस अधिकारीले पनि भन्न थालेका छन्।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले अमेरिकालाई ट्रम्पले द्रुत गतिमा रूससँग नजिक ल्याइरहेको बताएका छन्।

‘नयाँ प्रशासनले सबै विदेश नीति संरचनाहरूलाई तीव्र रूपमा परिवर्तन गरिरहेको छ। यो धेरै हदसम्म हाम्रो दृष्टिकोणसँग मेल खान्छ,’ पेस्कोभले रूसको सरकारी टेलिभिजनसँग आइतबार भने।

पुटिनसँग राम्रो सम्बन्ध भएका ट्रम्पले गत वर्ष चुनाव प्रचार क्रममै आफूले जिते रूस-युक्रेन युद्ध २४ घण्टाभित्रै रोकिदिने घोषणा गरेका थिए। कसरी रोक्ने भनेर नखुलाए पनि सैन्य सहायता रोक्ने धम्की दिएर युक्रेनलाई रूसको सर्त मान्न दबाब दिने अनुमान गरिएको थियो।

ट्रम्पले गत जनवरी २० मा कार्यभार सम्हाले। यसपछि भने युद्ध रोक्ने काम सोचे जस्तो सजिलो नभएको थाहा पाएर उनका अधिकारीहरूले सय दिनसम्म लाग्न सक्ने बताउन थाले। तर रूसले युक्रेनमा आक्रमण गरेको तेस्रो वर्षगाँठ नजिकिँदै जाँदा ट्रम्पले एक्कासि पुटिनसँग टेलिफोनमा कुरा गरेर वार्तालाई तीव्रता दिएका छन्।

ट्रम्पले पुटिनसँग फेब्रुअरी १२ मा टेलिफोन संवाद गरेपछि युक्रेनमा जारी युद्ध अन्त्य गर्न अमेरिका र रूसबीच साउदी अरेबियामा वार्ता हुने घोषणा गरे। सो वार्तामा अमेरिकाले युक्रेन र कुनै पनि युरोपेली देशलाई निमन्त्रणा दिएन।

युक्रेन र युरोपेली देशका कुनै प्रतिनिधि बेगर साउदी अरेबियाको राजधानी रियादमा फेब्रुअरी १८ मा अमेरिका र रूसले वार्ता पनि गरे।

वार्ताअघि नै ट्रम्पले युक्रेनलाई नेटो सदस्यता नदिने र रूसले २०१४ पछि कब्जा गरेको भूमि युक्रेनले फिर्ता नपाउने भनेका थिए।

रूसले भने केही पनि त्याग्नुपर्ने माग नगरेकाले धेरैले उनलाई रूसको पक्ष लिएको आरोप लगाउँदै आएका छन्।

त्यसपछि संकटमा परेका मान्छेको जायजेथा कौडीको भाउमा किन्ने वा चर्को ब्याजमा ऋण दिने गाउँका साहु-महाजनको जस्तो ट्रम्पले युक्रेनमाथि जबर्जस्ती खनिज सम्झौता लाद्न खोज्दैछन्। उनले युक्रनेलाई सैन्य सहायता जारी राखे वापत नभएर, पूर्वराष्ट्रपति जो बाइडेनले दिएको सहायताको भर्पाइका लागि युक्रेनको दुर्लभ खनिज पदार्थबाट आउने कमाइको आधा हिस्सा अमेरिकालाई दिनुपर्ने सर्त राखेका छन्।

देश बेच्ने खालको त्यस्तो सम्झौता गर्दिनँ भनेर जेलेन्स्कीले सुरूमा उनको प्रस्ताव अस्वीकार गरेपछि ट्रम्प जेलेन्स्कीमाथि खनिए।

रूसको भाषा बोल्दै जेलेन्स्कीलाई चुनाव बेगरका तानाशाह भने। युक्रेनले नै रूससँग युद्ध सुरू गरेको झुटो दाबी गरे। सन् २०१९ मा राष्ट्रपति निर्वाचित भएका जेलेन्स्कीको कार्यकाल सन् २०२४ मै सकिए पनि देशमा युद्ध चलेका बेलामा चुनाव गर्न सम्भव नभएको भन्दै उनले चुनाव गराएका छैनन्।

निष्पक्ष निर्वाचन जितेका जेलेन्स्कीलाई तानाशाह भनेका ट्रम्पले अहिलेसम्म रूसमा पछिल्लो दुई दशकदेखि तानाशाही शासन गरेका पुटिनलाई यस्तो केही भनेका छैनन्।

उनले जेलेन्स्कीलाई तानाशाह भनेपछि भएका पत्रकार सम्मेलनहरूमा पत्रकारले पटक-पटक के पुटिन तानाशाह हुन्? भनेर सोध्दा समेत उनले केही जबाफ दिएका छैनन्।

ट्रम्पले सत्ता सम्हालेपछि जुन गतिमा विदेश नीति परिवर्तन गरेर रूसलाई फाइदा हुने काम र कुरा गरिरहेका छन्। त्यसले स्वयं रूसी अधिकारीहरू नै अचम्ममा परेको भनेर कति पश्चिमा मिडियाले लेखेका छन्।

ट्रम्पले रूसको पक्ष किन लिएका हुन् भनेर ठ्याक्कै खुलेको छैन। त्यसबारे धेरै खालका अनुमान भइरहेका छन्। कति त पत्याउनै नसकिने ‘कन्सपिरेसी थ्योरी’ पनि छन्। कतिले भने पछिल्ला वर्ष चीनसँग धेरै निकट भएका पुटिनलाई ट्रम्पले खुसी पारेर चीनबाट अलग पार्न खोजेको भन्छन्।

शीत युद्ध कालमा तत्कालीन सोभियत संघबाट चीनलाई अमेरिकाले अलग पारेजसरी नै उनले अहिले रूसलाई चीनबाट टाढा लैजान खोजेको उनीहरूको जिकिर छ।

(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)

Please follow and like us:
Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *