जनकपुरमा सामा-चकेवा मूर्तिकला निर्माण कार्यशाला सुरु

जनकपुरधाम, कार्तिक २५ गते ।  मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले जनकपुरधाममा आयोजित सामा-चकेवा मूर्तिकला निर्माण कार्यशालाको उद्घाटन गर्नुभएको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, काठमाडौं र मैथिली विकास कोष, जनकपुरको संयुक्त प्रयासमा यो कार्यशाला आयोजना गरिएको हो। उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा मुख्यमन्त्री सतीश कुमार सिंह उपस्थित रहनु भएको थियो।

कार्यशालाको उद्घाटन सत्रको अध्यक्षता कोषका अध्यक्ष जीवनाथ चौधरीले गर्नुभयो। यस अवसरमा क्षेत्रका प्रमुख साहित्यकार डाक्टर राजेन्द्र प्रसाद विमल, सुनिल मल्लिक, परमेश्वर कपडी लगायतका प्रमुख व्यक्तिहरुको उपस्थिती रहेको थियो। समारोहले क्षेत्रीय सांस्कृतिक समृद्धिमा योगदान पुर्याउने अपेक्षासमेत गरिएको छ।

छ दिनसम्म सञ्चालन हुने यो कार्यशालामा सामा-चकेवा मूर्तिकला निर्माण गरिने छ। कार्यशालामा भाग लिन दुई दर्जनभन्दा बढी महिला र पुरुष कलाकारहरूको सहभागिता रहेको छ। यस कार्यक्रमको उद्देश्य सांस्कृतिक धरोहरलाई पुनर्जीवित गर्नु र यस क्षेत्रका कलाकारहरूको क्षमता अभिवृद्धि गर्नु हो।

कार्यशालामा सहभागी कलाकारहरूले सामा-चकेवा मूर्तिका विभिन्न कला प्रविधिहरूमा प्रशिक्षण प्राप्त गर्नेछन्। यो प्रयासले स्थानीय कलाकारहरूको कौशलमा सुधार ल्याउने र समृद्ध सांस्कृतिक परंपरा कायम राख्ने अपेक्षासमेत गरिएको छ।

Please follow and like us:
Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *