
काठमाडौँ । जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (जिफ) को प्रथम संस्करणको औपचारिक घोषणा गरिएको छ । आगामी फागुन १६ देखि १८ सम्म मधेश प्रदेशको जनकपुरधाममा हुने चलचित्र महोत्सवको मङ्गलवार राजधानीमा औपचारिक घोषणा गरिएको हो ।
चलचित्र क्षेत्रको अन्तर्राष्ट्रियकरण, बजार प्रवर्धन तथा सम्भावना र अवसरको खोजीसँगै चलचित्र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले यस महोत्सवको आयोजना गरिएको आयोजक संस्था संवाद फाउन्डेसनका अध्यक्ष कुमार भास्करले जानकारी गराएका छन् ।
महोत्सवमा अन्तर्राष्ट्रिय पानोरोमा, नेपाली पानोरोमा, स्टुडेन्ट पानोरोमाजस्ता विविध श्रेणीहरूमा चलचित्र प्रदर्शन हुनेछन् । महोत्सवमा हालसम्म ११४ भन्दा बढी देशका चलचित्रहरूको आवेदन आइसकेको र नेपाली पानोरोमामा चलचित्र दर्ताको क्रम जारी रहेको आयोजकले जानकारी गराएको छ ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी
जिफको घोषणा कार्यक्रममा शुभकामना मन्तव्य दिँदै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले जनकपुरले मिथिलालाई प्रतिनिधित्व गर्ने र विश्व बजारमा प्रतिस्पर्धा गरिरहेका चलचित्र र स्वदेशमा बनेका चलचित्रहरू सांस्कृतिक धरोहर जनकपुरको एउटै मञ्चमा प्रदर्शन हुनु आफैँमा खुसीको कुरा रहने बताए ।
उनले भने, जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा तराईका विभिन्न भाषा तथा संस्कृतिमा बनेका चलचित्रहरू प्रदर्शन हुने विश्वास लिएको छु ।
जनकपुर चलचित्र अन्तर्राष्ट्रिय महोत्सव नेपाली चलचित्रका लागि, नेपालको संस्कृतिका लागि र समग्र नेपाललाई चिनाउने प्रयासका लागि नयाँ जागरण हुनेछ । यस महोत्सवले विश्व मञ्चमा नेपाली कला–संस्कृति चिनाउनका लागि सेतुको काम गर्नेछ ।
सिक्दै, हुर्किँदै गरेको नेपाली चलचित्रलाई विश्व मञ्चमा पुर्याउने यस महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु ।

धर्मेन्द्र झा, रा.स.स. प्रमुख
तराई–मधेश क्षेत्रका विविध भाषा र संस्कृतिलाई समेटेर चलचित्रहरू कम बनेका छन् । त्यसमा पनि मधेश समुदायको प्रतिनिधित्व नेपाली चलचित्रले कम गरेको अनुभव भइरहेको समयमा जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले विश्वका प्रतिस्पर्धी चलचित्रहरूलाई जनकपुरको आँगनमा प्रदर्शन गर्ने महत्त्वपूर्ण विषय हो । सिनेमा मनोरञ्जन मात्र होइन, शिक्षा हो, जागरण हो र समाजलाई मूल्याङ्कन गर्ने माध्यम हो ।
रेखा थापा
जनकपुर नाम सुन्दा मात्रै आफैँमा ऊर्जा आउँछ । मधेश प्रदेशमा हुन लागेको यो चलचित्र महोत्सवले सिङ्गो नेपाली कला, संस्कृतिको प्रतिनिधित्व गर्नेछ भन्ने विश्वास लिएको छु । कला र महिलाको जननी मिथिला हो । हाम्रो आफ्नो मौलिक संस्कृति र भाषामाथि अतिक्रमण भइरहेकोले यस किसिमका महोत्सवले कला र नेपाली चलचित्र उद्योगलाई डोहोर्याउने माध्यम हो । हामीले बनाउने चलचित्रमा नेपाली माटोको सुगन्ध झल्किनुपर्छ ।

वरिष्ठ निर्माता माधव वाग्ले
कला र संस्कृतिको वैभव बोकेको जनकपुरमा हुने यस किसिमका महोत्सवलगायतका विविध कार्यक्रमले जनकपुरको परिचयलाई अन्तर्राष्ट्रियकरण हुने विश्वास लिएको छु । यस महोत्सवका लागि विश्वभरका सयभन्दा बढी देशबाट चलचित्रहरू सहभागी हुनका लागि आवेदन दिनु नै सफलता हो ।
निर्देशक सुवर्ण थापा
सिनेमाले कला, संस्कृतिको इतिहास झल्काउँछ । यस महोत्सवले हिमाल, पहाड र तराईलाई जोड्न सकोस् । यो महोत्सव अन्तर्राष्ट्रिय चलचित्रका लागि प्लेटफर्म प्रदान गर्ने र त्यसमा नेपाली चलचित्रका लागि सिक्नुपर्ने र सुधार्ने अवसरसमेत हुनेछ । नेपाली चलचित्रहरू पनि अन्तर्राष्ट्रिय चलचित्रसँग प्रतिस्पर्धा गर्न सक्षम छन् भन्ने सन्देशसमेत यस महोत्सवले दिनेछ ।
जनकपुर चलचित्र महोत्सवको घोषणा कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झा, चर्चित अभिनेत्री रेखा थापा, वरिष्ठ चलचित्र निर्माता माधव वाग्ले, विराज विष्ट, चलचित्र निर्देशकहरू सुवर्ण थापा, नवल नेपाल, टासी लामा, लय सङ्ग्रौला, रक्षासिंह राणा, अभिनेताहरू पुष्प खड्का, प्रकाश शाह, नरेन खड्कालगायतको उपस्थिति थियो ।
