जनकपुरधाममा अन्तराष्ट्रिय चलचित्र महोत्सव: संस्कृति र सिनेमाको संगम

जनकपुरधाममा पहिलो पटक अन्तराष्ट्रिय चलचित्र महोत्सव आयोजना हुने भएको छ। संवाद फाउण्डेशनको आयोजनामा आगामी फागुन १६ देखि १८ गतेसम्म जनकपुरधाम अन्तराष्ट्रिय चलचित्र महोत्सव सम्पन्न हुनेछ। मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक संस्थाले यसको औपचारिक घोषणा गरेको हो।

यस महोत्सवको प्रमुख उद्देश्य नेपाली चलचित्र क्षेत्रको अन्तराष्ट्रियकरण, बजार प्रवर्द्धन, सम्भावना र अवसरको खोजी गर्नुका साथै चलचित्र संस्कृतिको प्रवर्द्धन गर्नु रहेको छ। मिथिला क्षेत्रको सांस्कृतिक एवं ऐतिहासिक महत्वलाई मध्यनजर गर्दै आयोजना गरिएको यस महोत्सवले स्थानीय र अन्तराष्ट्रिय चलचित्रकर्मीबीचको सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

पत्रकार सम्मेलनमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले मिथिला संस्कृति विश्वमाझ चिनाउन जनकपुर अन्तराष्ट्रिय चलचित्र महोत्सव महत्वपूर्ण हुने धारणा राख्नुभयो। साथै, उहाँले महोत्सवमा मिथिला भाषाका चलचित्रहरू मात्र नभई नेपालका विभिन्न भाषाभाषी चलचित्रहरूलाई समावेश गर्नुपर्ने सुझाव दिनुभयो।

महोत्सवमा १ सय १४ भन्दा बढी देशका चलचित्रहरूले आवेदन दिएका छन्, जसले यस कार्यक्रमको अन्तराष्ट्रिय महत्व दर्शाउँछ। नेपाली चलचित्रका लागि छुट्टै “नेपाली पानोरामा” विधा राखिएको छ, जसमा आवेदन दिने क्रम जारी रहेको छ।

यस महोत्सवले जनकपुरधामलाई चलचित्र पर्यटनको केन्द्र बनाउन सक्ने सम्भावना राख्दछ। साथै, यो कार्यक्रम नेपाली फिल्म उद्योगका लागि नयाँ अवसरका ढोका खोल्ने एक महत्वपूर्ण पहल बन्ने अपेक्षा गरिएको छ।

Please follow and like us:
Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *