घोराहीमा गहना चोर्ने, बेच्ने र किन्ने पक्राउ

दाङको एक घरबाट गहना र पैसा चोरी गर्ने, त्यो गहना बिक्री गर्ने र किन्ने व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ।

घोराही उपमहानगरपालिका वडा नम्बर १ हर्नौककी गीता पुन वलीको घरबाट फागुन १५ गते गहना र नगद चोरी भएको थियो।

चोरीमा संलग्नसहितलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

सोही ठाउँका प्रदीप भनिने विज्ञान घर्ती सुरूमा पक्राउ परे। उनले नै गीताको घरबाट गहना र नगद चोरीको स्वीकार गरेको बयान दिएको प्रहरीको भनाइ छ।

प्रहरीले उनलाई बुधबार घोराही उपमहानगर १७ सिस्नेखोला सडकखण्डबाट नियन्त्रणमा लिएको थियो।

चोरीका गहना उनले घोराही बजारमा बिक्री गरेका थिए। गहना बेच्न घोराही १५ काठेकोहलका ३२ वर्षीय विक्रम चौधरी र उनकी २५ वर्षीया श्रीमती प्रतीक्षा केसीले सघाएका थिए।

चौधरी दम्पतीले घोराही १५ भीमसेनटोलका सुनका गरगहना बनाउने कालीगढको काम गर्ने ४१ वर्षीय सदन सुनारलाई ती गरगहना बेचेको पाइएको छ।

प्रहरीले चारै जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो।

प्रहरीले चौधरी दम्पतीको कोठाबाट दुई लाख २२ हजार ६ सय ६५ रुपैयाँ र पहेलो धातुको माइली तिलहरी बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहीले बताए।

सुनका गहना किन्ने सदन सुनारको घरको कोठाबाट स्वरूप परिवर्तन गरिएको सुनको टप दुइटा, सुनको औंठी एउटा, सुनको माइली तिलहरी एउटा बरामद गरेको डिएसपी शाहीले बताए।

उनीहरूलाई चोरी शीर्षकमा मुद्दा चलाई कानुनी कारबाही गर्ने तयारी गरिएको प्रहरीको भनाइ छ।

Please follow and like us:
Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *