काठमाडौंको आश्रयस्थलमा १० जना सुतिरहेको टहरामा टिपर छिर्‍यो, तीन जनाको मृत्यु

काठमाडौंको शंकरापुर नगरपालिका-६ साँखुको सलम्बुटार स्थित आश्रयस्थलमा टिपर अनियन्त्रित भएर छिर्दा तीन जनाको मृत्यु भएको छ।

द्वन्द्व पीडित तथा अपांग समाज संस्थाले बनाएको जस्ताको टहरामा शुक्रबार बिहान ३:४० बजे  बा २ क ६५८०  टिपरले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए।

आश्रयस्थलका १० जना सुतिरहेको टहरामा अनियन्त्रित भएको टिपर छिरेको थियो।

टिपरको ठक्करबाट २१ वर्षीय आकाश, २१ वर्षकै सुमन र अन्दाजी ४५ को हरिजन गम्भीर घाइते भएका थिए।

उनीहरूलाई प्रहरीले उद्धार गरी नेपाल मेडिकल कलेज अत्तरखेल पठाइएकोमा निज तीनै  जनालाई ४:३३ बजे अस्पतालले मृत घोषणा गरेको एसपी बोहराले जानकारी दिए।

टिपर चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नं. १२ का २५ वर्षीय सागर माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सलम्बुटारमा ०६२ सालदेखि उक्त आश्रयस्थल सञ्चालित छ भने त्यहाँ ६१ जना बस्दै आएका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको एसपी बोहराले जानकारी दिए।

Please follow and like us:
Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *