काठमाडौँमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको हस्तान्तरण

काठमाडौँ – भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको सुष्मा कोइराला मेमोरियल नर्सिङ्ग क्याम्पसको क्याम्पस र छात्रावास भवन आज औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव श्री अविनाश कुमार सिंह र जिल्ला समन्वय समिति, काठमाडौँका प्रमुख श्री सन्तोष बुढाथोकीले संयुक्त रूपमा क्याम्पस व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभयो। कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारीहरू र समाजसेवीहरूको समेत उपस्थिति थियो।

भारत सरकारको ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत नेरु २ करोड ९२ लाख ४० हजारको लागतमा निर्माण गरिएको दुई तले कक्षाकोठा भवन, दुई तले छात्रावास भवन र अन्य सहयोगी संरचनाहरू यस परियोजनाका मुख्य घटक हुन्। यस परियोजनालाई ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ को रूपमा अघि बढाइएको थियो र जिल्ला समन्वय समिति, काठमाडौँमार्फत कार्यान्वयन गरिएको थियो।

कार्यक्रमका वक्ताहरू, जसमा जिल्ला समन्वय समितिका प्रमुख, शंखरापुर नगरपालिकाका उपमेयर, राजनीतिक दलका प्रतिनिधि र क्याम्पस अध्यक्ष सामेल थिए, सबैले भारत सरकारद्वारा नेपालमा गरिँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गर्नुभयो। उहाँहरूले नवनिर्मित संरचनाले सुष्मा कोइराला मेमोरियल नर्सिङ्ग क्याम्पसका विद्यार्थीहरूको शिक्षामा गुणस्तर सुधार गर्न योगदान पुर्याउने र यस क्षेत्रको समग्र शैक्षिक विकासलाई थप गति दिने विश्वास व्यक्त गर्नुभयो।

सन् २००० मा स्थापना भएको सुष्मा कोइराला मेमोरियल नर्सिङ्ग क्याम्पस प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बाट सम्बन्धन प्राप्त संस्थान हो। यस क्याम्पसले तीन वर्षे प्राविधिक दक्षता (प्रोफिसियन्सी सर्टिफिकेट लेभल) कोर्स उपलब्ध गराउँदै आएको छ र हरेक वर्ष १२० जना तालिमप्राप्त नर्स उत्पादन गर्दै आएको छ।

भारत र नेपालबीचको निकट सम्बन्धलाई बलियो बनाउँदै, ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भएका यस्ता परियोजनाले नेपाली जनताको उत्थान र प्राथमिकताका क्षेत्रहरूमा पूर्वाधार विकास गर्न योगदान पुर्याइरहेको छ।

Please follow and like us:
Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *