ओलीबारे लेखराजको पुरानो भिडियो एकाएक बहसमा

१ माघ, काठमाडौं । नेकपा एमालेका सचिव लेखराज भट्टले आफ्नो पुरानो भिडियो देखाएर नचाहिँदो हल्ला फिँजाउन खोजिएको भन्दै असन्तुष्टि जनाएका छन् । यसअघि पनि पार्टी छाडेको भन्दै हल्ला चलाएर दुःख दिने काम भएको उनको भनाइ छ ।

‘केही समय अगाडि पार्टी नै छाड्यो भनेर प्रचार गरियो त्यसको मैले विज्ञप्ति नै निकालेर खण्डन गरेँ,’ एमाले सचिव भट्ट भन्छन्, ‘अहिले फेरि पुरानो भिडियो सार्वजनिक गरिएको छ । अगाडि र पछाडिका संवाद फालेर बीचको मात्रै राखेको छ । यो गलत छ ।’भट्टको एउटा भिडियो क्लिप सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको छ । जहाँ उनले एमालेमा रहेर राजनीति गर्दा पूर्वमाओवादीको हालतबारे उल्लेख गरेका छन् ।

भट्टका अनुसार सार्वजनिक भिडियो एमालेको दशौं महाधिवेशन (२०७८ साल मंसिर पहिलो साता) समयको हो । एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको थियो । तर सर्वोच्च अदालतले नेकपा एकता भंग गरिदिएपछि एमाले र माओवादी ब्युँतिए । पूर्वपार्टी ब्युँतिएपछि एमालेको दशौं महाधिवेशन भएको हो ।पार्टी एकता सर्वोच्चले भंग गरिदिएपछि नेकपा एकताको निरन्तरताको रूपमा माओवादीका भट्ट, रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी सहितका नेताहरू एमालेमै रहेका थिए ।

नेकपा निरन्तरताको रूपमा रहेका पूर्वमाओवादीको अवस्था एमालेभित्र कस्तो हुने भन्ने सन्दर्भमा नेता/कार्यकर्ताका चाहना र गुनासा सम्बोधन गर्ने क्रममा आफूले बोलेका विषयलाई भिडियो बनाइएको रहेछ भन्ने बल्ल थाहा पाएको भट्टले बताए ।

‘पार्टीभित्रकै साथीले रेकर्ड गर्नुभएको हो । ती साथी अहिले पनि पार्टीमै हुनुहुन्छ । पहिले के नियतले रेकर्ड गर्नुभयो, अहिले किन बाहिर ल्याउनुभयो र उहाँ कोबाट परिचालित हुनुहुन्छ त्यो चाहिँ पत्ता लगाउनुपर्छ,’ भट्टले अनलाइनखबरसँग भने ।

भट्टका अनुसार स्थानीय नेताले उनीसँग भेटेका थिए । लामो कुराकानी भएको थियो । भिडियो रेकर्ड गरिएको भट्टलाई थाहा थिएन । एमालेमा पूर्व माओवादी पनि अटाउँछन् र राजनीतिमा के कस्तो अवस्था आउँछन् र के गर्नुपर्छ भन्ने सन्दर्भमा उनले नेता/कार्यकर्तालाई आश्वस्त गराउन खोजेका थिए ।भिडियोमा भट्टले सुनाएको दुखेसा र उकुसमुकुस व्यक्त भएको सुनिन्छ । त्यसमा उनले बोलेका छन्, ‘कि त राजनीतिबाट सन्यास लिनुपर्‍यो, होइन भने यही नेतृत्वलाई स्वीकार गरेर जानुपर्छ । पार्टी जीवनमा कतिपय भइरहने कुरा हुन् भनेको थिएँ । तर, त्यसको अगाडि र पछाडिको कुरा काटेर एउटा क्लिप सार्वजनिक गरिएको छ ।’

अहिले एमाले पार्टीभित्र समस्या नरहेको भट्टले दाबी गरे । ‘अहिले पार्टीमा त्यस्तो छैन । पुरानो सन्दर्भलाई कोट्याउनु राम्रो पनि होइन,’ उनले भने ।

सार्वजनिक भिडियोमा भट्टले तीन कोणमा आफ्ना कुरा राखेका छन् ।भट्टले माओवादीमा रहँदा पुष्पकमल दाहाल प्रचण्डसँगको सम्बन्ध र संघर्ष सम्झिएका छन् । एमालेमा रहँदाका अप्ठ्यारा र एमाले छाड्दाका विकल्प पनि राखेका छन् ।

प्रचण्डसँग रहँदाको जस्तो अवस्था एमालेमा ओलीसँग नरहेको भट्टको ब्रिफिङ छ ।

‘इन्चार्जको रूपमा रिभोल्ट गरेको छ । तर नेतृत्वले गम्भीरतापूर्वक लिएन त्यसलाई ..यो समस्या नेतृत्वमा छ,’ भट्टले भनेका छन्, ‘म चाहिँ के हो त भन्दा म प्रचण्डसँग जुधेको जस्तो अहिले केपीसँग जुध्न सक्दिनँ । किनभने त्यहाँ लडेर आइया छ । यहाँ केपी भनिएको छ । भोलि नेतृत्वले त्यसलाई नेगेटिभ (लियो भने) हाम्रो (एमाले) मा त ‘म’ भन्ने छ नि त, अहंकार नेताहरूमा …।’

अहंकारको सन्दर्भमा भट्टले थप व्याख्या गरेका छन्, ‘मार्क्सिज्म नि, म बाहेक अरू छैन ।’

नेतृत्वसँग संघर्ष गर्दा विभिन्न विकल्प हुने भनेर नेता भट्टले यहाँ पनि तीन वटा विकल्प देखाएका छन् । ‘अब मेरो (विकल्प) के हुन्छ ? या त मैले अन्य पार्टी खोल्नुपर्छ । या त अरू पार्टीमा जानुपर्छ । या त मैले (राजनीतिबाट) सन्यास लिनुपर्छ,’ भट्टले भनेका छन् ।सार्वजनिक भिडियोमा एमालेमा ओलीसँग संघर्ष गर्ने बेला नभएको पनि भट्टको ब्रिफिङ छ ।

‘सिधै अहिले नै केपीसँग जुध्ने हो भने समस्या त आइहाल्छ । अहिले बेलै भएको छैन । भर्खर हामी आएका हौँ, उहाँले हामीलाई बुझ्नुभएको छैन । तर हामीले त बुझिसक्यौं केपीलाई’ भट्टले भनेका छन् ।

यहीँनेर भट्टले टोपबहादुर रायमाझी जेल गएको प्रसंग कोट्याएका छन् ।

‘अहिले टोपबहादुरभित्र (नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएर जेल) पर्नुभयो । साथीहरूले भनेका छन्, जिम्मेवार मान्छेले लेख्या पनि छन्– माओवादीमा थुप्रै अपराध गरेर यहाँ बस्न आएको भनेर लेख्या छन्’ भट्टले भनेका छन् ।भट्टसँग कुराकानी गरिरहेका अर्का व्यक्तिले माओवादीमा थुप्रै अपराध गरेर एमालेमा बस्न आएको भनेर एमाले नेता शेरबहादुर तामाङले बोलेको भनेका छन् ।

तर, भट्टले तामाङबारे कुनै टिप्पणी गरेनन् ।

टोपबहादुर रायमाझी एमालेको दशौं महाधिवेशनबाट सचिव भएका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका रायमाझी काठमाडौं जिल्ला अदालतको आदेश अनुसार १ असार २०८० मा जेल चलान भएका थिए । रायमाझीको जेल चलानको प्रसंग आएकाले भट्टको अभिव्यक्ति धेरै पूरानो नरहेको समेत देखाउँछ ।

बरु अध्यक्ष ओलीले नै आफूहरूलाई अपमानित गर्ने गरी मञ्चमा राखेर बोल्ने गरेको भनेर रोष प्रकट गरेका छन् ।‘कहिले अध्यक्ष (केपी ओली), हामी मञ्चमा हुन्छौं, आतंककारी भनिदिनुहुन्छ हामीलाई । अपराधी, हत्यारा भनिदिनुहुन्छ’ भट्टको रोष छ । तर, आफूहरूले जनयुद्धप्रति गर्व गर्ने गरेको र गरिरहने भट्टको प्रतिबद्धता छ ।

पुरानो भिडियोमा भट्टले भनेका छन्, ‘तर हामी अहिले पनि गर्व गर्छौं क्या । अहिले पनि म भन्छु– जनयुद्ध नभएको भए आज केपी ओलीले पनि त्यसरी बोल्न सक्नुहुन्थेन । यो ठाउँ पाउनुहुन्थेन है ।’

भट्टले भने कार्यकर्तासँग गरिएका अनौपचारिक र पुराना कुरालाई अहिले अतिरञ्जित पेस गरिएको बताउँदै खण्डन गरेका छन् । उनले पार्टीमा बस्दा त्यसभित्रका मान्यता र अनुशासनलाई मान्नुपर्छ भन्ने अर्थमै आफू प्रस्तुत भएको कुरालाई गलत स्वार्थवश ‘सम्पादित क्लिपमात्रै बाहिर चलाइएको’ उनको भनाइ छ ।

‘जहाँ पनि संघर्ष हुन्छ । एमालेमा रहँदा एमाले नेतृत्वलाई स्वीकार गर्ने र अगाडि जाने नै हो भनेर मैले पूर्वमाओवादी साथीहरूलाई कन्भिन्स् गर्न खोजेको हुँ’ भट्टले अनलाइनखबरसँग भने ।

Please follow and like us:
Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *