एउटै कोठामा भान्सा र पुस्तकालय चलाइरहेको त्रिवि हिन्दी विभाग

१४ माघ, काठमाडौं । एउटा कोठामा तीन वटा दराज छन् । एउटा टेबलमा ग्यास चुल्हो छ । भाँडाकुँडा यत्रतत्र छन् । छेउमा केही थान किताबहरू छन् । यो त्रिविको हिन्दी विभागको लाइब्रेरी हो । अर्को कोठालाई कक्षा कोठा बनाइएको छ, तर पढ्ने कक्षा कोठाजस्तो छैन ।

‘कोठा अपुग भएकाले लाइब्रेरी र किचेन एकै ठाउँमा छ,’ विभागकी प्रमुख स्वेता दिप्तीले भनिन्, ‘सात वटा कोठा पायो भने व्यवस्थित हुने थियो । चार वटा कोठामा काम चलाएका छौँ ।’थप कोठाका लागि त्रिवि नेतृत्वसँग आफूले कुरा राखेको उनले बताइन् । ‘कोठाका लागि माथि कुरा राखेको छु । त्रिविको जग्गा छ, भवन बनाउन दाता पनि छैनन्,’ उनले समस्या सुनाइन् ।

कोठा मात्र होइन विद्यार्थीको समेत अभाव झेल्नु परेको छ, हिन्दी विभागले । एमएको दोस्रो सेमेस्टरमा अहिले दुई जना विद्यार्थी अध्ययनरत छन् । तीन जना भर्ना भए पनि एक जनाले छाडेपछि दुई जनामा झरेको हो । ‘स्वास्थ्यका कारण एक जनाले छोड्नु भएको हो,’ प्रमुख दिप्तीले भनिन्, ‘त्रिविका सबै विभागको हालत यस्तै छ ।’विभागमा हाल पाँच जना शिक्षक र दुई जना कर्मचारी गरी ७ जना कार्यरत छन् । यो वर्ष भने विद्यार्थीको संख्या बढ्नेमा आशावादी छिन् प्रमुख दिप्ती ।

‘एमएका लागि ७ जनाले प्रवेश परीक्षा दिनु भएको छ । सबै उत्तीर्ण हुनुभएको छ । ६ जनाले भर्ना गर्नेमा ढुक्क छु,’ उनले भनिन् ।

विभाग प्रमुख दिप्तीका अनुसार तेस्रो सेमेस्टरमा विद्यार्थी छैनन् । चौथो सेमेस्टरमा दुई जना विद्यार्थी छन् । एमफिल सकेर बसेका २ जना विद्यार्थी पीएचडीमा भर्नाको तयारीमा रहेको बताउँछिन् दिप्ती ।‘एमफिलमा अहिले भर्ना खुलेको छैन । दुई चार जना सम्पर्कमा आउनु भएको छ । उहाँहरू आउनु हुन्छ भन्ने छ,’ उनले भनिन् । पछिल्लो १० वर्षमा २९ जना विद्यार्थी हिन्दीमा भर्ना भएका छन् । यो अवधिमा सबैभन्दा धेरै आर्थिक वर्ष २०७२/७३ मा र २०७५/७६ मा ६/६ जना विद्यार्थी भर्ना भएका छन् । आर्थिक वर्ष २०७७/७८ मा हिन्दीमा विद्यार्थी भर्ना नै भएनन् ।

विभागको स्तरोन्नतिका लागि त्रिविले चासो नदिएको उनको गुनासो छ । ‘भीसी, रेक्टर र रजिस्ट्रार कार्यालयमा कुरा गर्न खोजेको हो । कहिले ताला लाग्छ, कहिले समय मिल्दैन । म आएको दुई महिना भयो । चार वर्षसम्म केही सुधार गर्छु,’ उनले भनिन्, ‘त्रिविले पनि विभागको संरक्षणमा चासो दिनुपर्छ ।’

त्रिविले विभागका शिक्षक कर्मचारीलाई तलब खुवाउने बाहेक अन्य कुरामा ख्याल नगरेको तर्क उनको छ । ‘हिन्दी भन्ने वित्तिकै अर्को सोच राखिन्छ । विश्वविद्यालय स्थापना हुँदाकै विभाग हो हिन्दी विभाग । संरक्षणमा सबैले चासो दिनुपर्छ,’ दिप्ती भन्छिन् ।नयाँ विभाग खोल्ने तर पुरानो विभागलाई भने त्रिविले बेवास्ता गरेको बताउँछिन् विभागकी पूर्वप्रमुख डा. सञ्जिता बर्मा । उनी आफैंले पनि यही विभागबाट पीएचडी गरेकी हुन् ।

‘मानविकी संकायकै समस्या हो । हिन्दीमा पनि कम भएको हो । हामीले पढ्ने समयमा राम्रो थियो । अहिले राजनीतिको असर परेको हो,’ बर्मा भन्छिन्, ‘नयाँ नयाँ विभाग खोलियो तर पुरानोको संरक्षण गरिएन ।’

विद्यार्थीहरू विदेश पलयान भएका कारण विभागामा विद्यार्थी कम भएको निष्कर्ष उनको छ । ‘राज्यले रोजगारी दिन सकेको छैन । विद्यार्थी विदेश पलायन भएका छन् । अनि कसरी विद्यार्थीको संख्या धेरै हुन्छ त ?,’ उनी राज्यलाई दोष दिन्छिन् ।

Please follow and like us:
Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *