
धनुषा । जनकपुरधामलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठपर्व हर्सोल्लासका साथ सम्पन्न भएको छ ।
चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईको विभिन्न जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै धूमधामका साथ चैती छठपर्व सम्पन्न भएको छ । छठपर्वको विशेषता भनेको यसको आधिकारिक पूजा पोखरी र नदीमा मात्र गर्नुपर्ने परम्परा हो । यस पर्वको अवसरमा जनकपुरधामका प्रमुख पोखरीजस्तै गङ्गासागर, अङ्गराज सर, दशरथ तलाउमा किनारमा धार्मिक विधिपूर्वक मनाइएको छ ।
भक्तजनहरू बिहीबार साँझ परम्परागत फलफूलजस्तै केरा, भुसवा, ठकुवा, नरिवल, उखु, मुला आदि लिएर सूर्यलाई अर्घ्य अर्पण गरेको थियो । पौराणिक कथनअनुसार आदिकालमा सती अनुसूयाले रोगग्रस्त पतिलाई निको पार्न भगवान सूर्य र षष्ठी देवीको पूजा आराधना गरेका थिए । महाभारत कालमा पनि पाँच पाण्डवकी पत्नी द्रौपदीले कौरवहरूको पराजयको लागि सूर्यदेवको उपासना गर्दै छठपर्व मनाएको उल्लेख पाइन्छ ।