इनरुवामा भारत सरकारको सहयोगमा विद्यालयको भवन निर्माण शिलान्यास

सुनसरी, इनरुवा – सुनसरी जिल्लाको इनरुवा नगरपालिका स्थित श्री त्रिभुवन माध्यमिक विद्यालयको नयाँ भवन निर्माणको शिलान्यास आज एक विशेष समारोहबीच सम्पन्न गरिएको छ। कार्यक्रममा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ४ का माननीय सांसद श्री ज्ञानेन्द्र बहादुर कार्की, काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख श्री प्रसन्न श्रीवास्तव तथा इनरुवा नगरपालिकाका मेयर श्री केदार भण्डारीले संयुक्त रूपमा शिलान्यास गर्नुभयो ।

उक्त अवसरमा राजनीतिक दलका प्रतिनिधिहरू, सरकारी अधिकारीहरू, सामाजिक अभियन्ता, विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

‘नेपाल-भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको उक्त विद्यालय भवनको कुल लागत नेपाली रूपैयाँ २ करोड ४८ लाख ३० हजार रहनेछ । निर्माण हुने दुईतल्ले भवन तथा अन्य भौतिक संरचनाहरू उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) को रूपमा इनरुवा नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ ।

वि.सं. २०१५ (सन् १९५८) मा स्थापना भएको श्री त्रिभुवन माध्यमिक विद्यालयले नर्सरीदेखि कक्षा १२ सम्मका करिब ७५० विद्यार्थीलाई शिक्षा प्रदान गर्दै आएको छ, जसमा ५५ प्रतिशत छात्राहरू रहेका छन्। नयाँ भवनले विद्यालयको पठनपाठनको गुणस्तर अभिवृद्धि गर्नुका साथै सिकाइका लागि आवश्यक भौतिक पूर्वाधार उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

भारतीय दूतावासका नियोग उपप्रमुख श्री श्रीवास्तवले सन् २००३ यता भारत सरकारले नेपालभरि ५६३ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू कार्यान्वयनमा ल्याइसकेको जानकारी दिनुभयो । तिनमध्ये ९१ वटा परियोजना कोशी प्रदेशमा रहेका छन्। साथै, भारत सरकारले हालसम्म नेपालभरका स्वास्थ्य संस्था तथा विद्यालयहरूलाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कूल बस उपहारस्वरूप प्रदान गरिसकेको छ। कोशी प्रदेशमा मात्र १४६ एम्बुलेन्स र ४८ स्कूल बस उपलब्ध गराइएको उल्लेखनीय छ ।

उहाँले नेपाल सरकारका प्राथमिकता प्राप्त क्षेत्रहरूमा सहकार्य गर्दै विकास साझेदारीलाई थप मजबुत बनाउने भारत सरकारको प्रतिबद्धता दोहोर्‍याउनुभयो ।

कार्यक्रममा वक्ताहरूले विद्यालयको पूर्वाधार निर्माणमा भारत सरकारले देखाएको सहयोगप्रति आभार व्यक्त गर्दै, यसले पूर्वी नेपालको शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।

भारत र नेपालबीचको ऐतिहासिक, सांस्कृतिक तथा विकास साझेदारीलाई अझ मजबुत बनाउँदै ‘छिमेकीप्रति पहिला’ नीतिअनुसार भारत सरकारले नेपाली जनताको समृद्धि र उत्थानका लागि निरन्तर साथ र सहयोग गर्ने प्रतिबद्धता पुनः व्यक्त गरिएको छ ।

Please follow and like us:
Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *