
१२ माघ, काठमाडौं । नेपाली कांग्रेस अध्यादेशको पक्षमा एकढिक्का संसद्मा प्रस्तुत हुने भएको छ । सदनभित्र र बाहिर पनि अध्यादेशको पक्षमा एकढिक्का हुन कांग्रेस शीर्ष नेतृत्वले पार्टी पंक्तिलाई निर्देशन दिएको छ ।
सिंहदरबारस्थित दलको कार्यालयमा सरकारमा सहभागी आफ्ना मन्त्रीहरूसँगको छलफलको क्रममा कांग्रेस शीर्ष नेतृत्वले पार्टी सरकारले ल्याएका अध्यादेशको पक्षमा एकढिक्का रहेको सन्देश दिएको हो ।संसद् छलेर एकपछि अर्को अध्यादेश ल्याएपछि कांग्रेसकै धेरै नेताले सरकारको आलोचना गरेका थिए । तर, शनिबारको बैठकले अध्यादेश वर्तमानको बाध्यात्मक आवश्यकता रहेको स्पष्ट सन्देश दिएको हो ।
बैठकमा सहभागी प्रमुख सचेतक श्याम छिमिरले पार्टी सभापति शेरबहादुर देउवाले सबैलाई सरकारले ल्याएका अध्यादेशका बारेमा आसन्न संसद्भित्र र बाहिर पनि एकढिक्का भएर प्रस्तुत हुन निर्देशन दिएको जानकारी दिए ।‘सरकारले तत्काल गर्नुपर्ने सुधारको आवश्यकता महसुस गरेर केही अध्यादेश ल्याएको छ । अबको संसद् अधिवेशनमा ती अध्यादेशमाथिका छलफलमा एकढिक्का भएर प्रस्तुत हुन तथा बाहिर पनि एकढिक्का भएरै प्रस्तुत हुन पार्टी सभापतिले निर्देशन दिनुभयो,’ प्रमुखसचेतक घिमिरेले भने ।
बैठकमा गृहमन्त्री रमेश लेखकले सरकारले ल्याएका अध्यादेशसहित सरकारका कामकारबाहीबारे जानकारी गराएका थिए । लामो समय आर्थक क्षेत्र शिथिल रहेको अवस्था अन्त्य गर्दै चलायमान बनाउन तत्काल केही कानुन सुधार गर्नैपर्ने आवश्यकता रहेकाले सरकारले अध्यादेश ल्याएको गृहमन्त्रीले बैठकमा जानकारी गराएको घिमिरले जानकारी दिए ।
प्रमुख सचेतक घिमिरेले बैठकमा संसद्मा प्रस्तुत हुने विधेयक, अध्यादेश तथा आउँदै गरेका विधेयकबारे गहन छलफल भएको बताए । उनका अनुसार छलफलमा कृषिमन्त्री रामनाथ अधिकारी र स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पनि आआफ्ना मन्त्रालयका कार्यप्रगतिबारे जानकारी गराएका थिए ।