अदालतको आदेशपछि प्रचार रोकिएको फिल्म ‘लाज शरणम्’ सेन्सर पास

उच्च अदालत पाटनको आदेशपछि प्रचारप्रसार रोकिएको फिल्म ‘लाज शरणम्’ सेन्सर पास भएको छ। केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले फिल्मलाई सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने गरी ‘युनिभर्सल सर्टिफिकेट’ दिएको छ। 

शुक्रबार फिल्म जाँच गरिएको र आइतबार निर्मातालाई प्रमाणपत्र प्रदान गरिएको हो।

पूर्वमन्त्री मोहम्मद अफताब आलमले उच्च अदालत पाटनमा रिट दायर गरेपछि फिल्मको प्रदर्शन अन्यौल भएको थियो।

फिल्मका कलाकार सीताराम कट्टेलले निर्वाह गरेको पात्रको आवरण आफूसँग मिलेको भएकोले त्यसको प्रचार रोक्न भन्दै आलमले रिट दायर गरेका थिए। उक्त रिटको सुनुवाई गर्दै उच्च अदालत पाटनले फिल्म सेन्सर पास नभएसम्म सामाजिक सञ्जाल र सञ्चारमाध्यममा फिल्मको प्रचारप्रसार नगर्न अन्तरिम आदेश दिएको थियो। 

त्योसँगै फिल्मको प्रचार रोकिएको थियो। निर्माण टिमले फिल्मको टिजर र गीतलाई युट्युबमा ‘प्राइभेट’ बनाएको थियो। 

सेन्सर पास भएसँगै फिल्म महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेदेखि प्रदर्शनमा आउने बाटो खुलेको छ।

‘लाज शरणम्’ चर्चित हास्य टेलिसिरियल ‘सक्किगोनि’ को टिमले निर्माण गरेको हो। कुमार कट्टेल (जिग्री)ले फिल्म निर्देशन गरेका हुन्। 

जेपिटी क्रियसनको ब्यानरमा बनेको फिल्ममा सीताराम कट्टेल (धुर्मुस) विजय बराल, अर्पण थापा, सागर लम्साल, हरिश निरौला, अर्जुन घिमिरे, प्रियाना आचार्य, महेश त्रिपाठी, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बू लगायत कलाकारहरूको अभिनय छ। फिल्मको निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सृजना खड्का सह–निर्माताका रूपमा रहेका छन्। अर्जुन घिमिरे (पाँडे) कार्यकारी निर्माता छन्। 

Please follow and like us:
Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *